सन्दीप चम्किँदा पोखरामाथि विराटनगरको ४ विकेटको जित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ । पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
१३३ रनको लक्ष्य पछ्याएको विराटनगरका लागि बसिर अहमदले सर्वाधिक ३७ रन बनाए । उनले ३९ बलमा २ चौका र २ छक्का प्रहार गरे । लोकेश बमले २७ बलमा २ चौका र २ छक्कासहित ३३ रन जोडे । इसुरु उदानाले १२ बलमा ४ चौका र १ छक्कासहित अविजित २५ रन बनाए । शहेन जयसूर्या १४ बलमा २ चौकासहित अविजित १७ रनमा रहे । इमरान शेखले ९ बलमा २ चौकासहित १० रन बनाए ।
एन्जेलो म्याथ्युजले ८ रन बनाए भने चारिथ असलंका र प्रतीस जिसी शून्यमा आउट भए । अतिरिक्त ६ रनसहित विराटनगरले १३६ रन बनायो । पोखराका लागि रमेश मेन्डिस र कुशल भुर्तेलले समान २ विकेट लिए । विपिन खत्री र धनञ्जय लक्षनले समान १ विकेट लिए ।
पहिले ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा सबै विकेट गुमाएर १३२ रन बनाएको थियो । उसका लागि युवराज सामराले सर्वाधिक ८४ रन बनाए । उनले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे ।
धनञ्जय लक्षनले १५ बलमा १ चौका र १ छक्कासहित २२ रन बनाए । सन्नी बीकेले ११ बलमा १ छक्कासहित १२ रन जोडे । अर्जुन घर्ती र विपिन खत्रीले समान ५ रन बनाए । अर्जुन कुमाल र सागर ढकालले समान १ रन बनाए । कुशल भुर्तेल, रमेश मेन्डिस, चमिका करुणारत्ने र किरण ठगुन्ना शून्य रनमा आउट भए । अतिरिक्त २ रनसहित पोखराले १३२ रन बनाएको थियो ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले ६ विकेट लिनुका साथै ह्याट्रिकसमेत गरे । उनको उत्कृष्ट बलिङका कारण पोखरा १३२ रनमै समेटिएको थियो । सन्दीपले ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए । एन्जेलो म्याथ्युज, चारिथ असलंका र रुपेश सिंहले समान १ विकेट लिए । इसुरु उदाना र शहेन जयसूर्याले विकेट लिन सकेनन् ।

