२४ बैशाख २०८१, सोमबार
Follow Us

एनआरएनए अमेरिकाको अध्यक्षको दौडबाट बाहिरीए गौरी जोशी

नेपालब्रिटेन डट कम्
७ भाद्र २०७४, बुधबार २१:११

पुरुषोत्तम ढकाल । लसएन्जलस । गैर आवाशीय नेपाली संघ, (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको जारी निर्वाचन अन्तर्गत २०१७-१९ कार्यकालका लागि उम्मेदवारी दिएका अध्यक्ष प्रत्यासी गौरीराज जोशीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

मंगलबार पूर्वीय समय अनुसार राति करिब ९:०० बजे उम्मेदवार जोशीले आफू अध्यक्ष पदको दौडबाट बाहिरिएको र आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी सहितको पत्र निर्वाचन आयोगलाई पठाएको आयोगले पुष्टि गरेको छ । यस अघि जोशीले आफूले उम्मेदवार हुन पाउनु पर्छ भन्दै टेनेसी अदालतमा दायर गरेको मुद्धा फिर्ता लिएको जानकारी मंगलबार मध्यान्ह फेसबुक मार्फत सार्वजनिक गरेका थिए ।

जोशीले आफ्नो उम्मेदवारी त्यागेको पत्र लगत्तै निर्वाचन सुचारु गर्ने तयारीमा रहेको आयोग थप प्रक्रिया सुरु गर्ने विषयमा असमन्जसमा परेको कारण मंगलबार राति सार्वजनिक गर्ने भनिएको निर्वाचन तालिका सार्वजनिक हुन सकेन । यस अघि अघिल्लो साता टेक्सास निवासी नेपाली काँग्रेस महासमिति सदस्य हरिबोल भण्डारीको पहलमा अमेरिकाकै अमुक स्थानमा भएको त्रिपक्षीय बैठकमा अध्यक्ष प्रत्याशी जोशीले आफू आफ्नो अध्यक्ष उम्मेदवारी फिर्ता लिन तयार रहेको तर चुनावी क्याम्पियनमा भएको खर्च झन्डै एक सय पचाश हजार अमेरिकी डलर, ($1,50,000.00) व्यहोर्नु पर्ने र आफूलाई उपयुक्त समयमा एनआरएनएको उपयुक्त पदमा स्थापित गरिनु पर्ने सर्त आघि सारेका थिए ।

द्धिपक्षीय संवादको संयोजन गरेका संयोजकले दिएको जानकारी अनुसार सर्त अनुसार सम्बन्धित पक्षले उनलाई आगामी कार्यकालको लागि संघको क्षेत्रीय उपसंयोजकमा सघाउने र उनको भए गरेको खर्च सम्बन्धित पक्षले व्यहोर्ने सर्तमा जोशी आफ्नो उम्मेदवारी त्यागेर अध्यक्ष प्रत्याशी केशव पौडेल र उनको समूहलाई मत दिन राजि भएका थिए ।

यसैबीच अध्यक्ष प्रत्याशी जोशीले उम्मेदवारी फिर्ताको लागि आफ्नो चुनावी अभियानमा भएको खर्च सम्बन्धित पक्षसंग फिर्ता मागेको भन्ने आरोप जोशीको सामाजिक मर्यादालाई धुमिल पार्ने षड्यन्त्र भएको जोशी निकटको भनाई छ र उम्मेदवारी फिर्ता लिएका गौरीराज जोशीले पनि यो आफुलाई लगाइएको आरोप निराधार भएको र हल्लाको पछि नलाग्न आग्रह गर्दै आफ्नो सामाजिक कार्यको अभियान निरन्तर जारी रहने बताएका छन् ।

यद्यपी जोशीले आफूले आफ्नो उम्मेदवारी निसर्त: फिर्ता लिएको बताउदै कसैसंग नभेटेको र कुनै पनि प्रकारको संझौता नगरेको दावी गरेका छन् ।