२४ बैशाख २०८१, सोमबार
Follow Us

राजदूत र अस्ट्रेलियाली विदेशमन्त्रीबीच भेटवार्ता

नेपालब्रिटेन डट कम्
१३ कार्तिक २०७४, सोमबार ०५:१६

कार्तिक १३, २०७४-अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले अस्ट्रेलियाली विदेशमन्त्री जुली बिसपसँग भेटवार्ता गरेकी छन् । क्यानबेरास्थित संसद भवनमा रहेको मन्त्री विसपको कार्यकक्षमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध, नेपाली राजनीतिक विकासक्रम र नेपाललाई अस्ट्रेलियाले पुर्‍याइरहेको सहयोगका बारेमा छलफल भएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राजदूत शेर्पाले अस्ट्रेलिया आउन चाहनेका लागि भिसा प्रक्रिया काठमाडौंबाटै पुन: सुरु गर्न आग्रह गरेकी थिइन् । उनले राष्ट्रसंघको मानव अधिकार परिषद् सदस्यको निर्वाचनमा अस्ट्रेलियाले नेपाललाई गरेको सहयोगका लागि धन्यवादसमेत दिएकी थिइन् । शेर्पाले आफूले विदेशमन्त्रीमार्फत अस्ट्रेलिया सरकारलाई उच्चस्तरको कूटनीतिक भ्रमणका लागि आग्रह गरेको बताइन् ।

भिसा प्रक्रिया नेपालमा नै स्थापना गर्ने सवालमा भने परराष्ट्रमन्त्री विसपले अहिले आफूहरूले अनलाइन आवेदन सुरु गरेको र कन्सुलर सेवालाई सहजीकरण गर्ने प्रक्रियामा रहेको जानकारी दिएको उनले बताइन् । विदेशमन्त्री विसपले पर्यटन तथा यातायात मन्त्रालयसँग समन्वय गरेर नेपालसित सिधा हवाई सेवा सञ्चालनका लागि अध्ययन गरिने जानकारी दिएकी थिइन् ।

कान्तिपुरबाट ।