डायस्पोरा

श्रम संस्कृति समाज यूकेको प्रथम महाधिवेशन अल्डरशटमा सम्पन्न, मनोज पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

अल्डरशट । बेलायतमा क्रियाशील सामाजिक संस्था श्रम संस्कृति समाज यूके (SSS UK) को उद्घाटन तथा प्रथम साधारण अधिवेशन शनिबार अल्डरशटस्थित एम्पायर हलमा सम्पन्न भएको छ।

“हाम्रो साझा सम्पदा, नैतिक शासन र सामुदायिक भावना” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा यूकेका विभिन्न शहरबाट १२० भन्दा बढी श्रमदाता, शुभचिन्तक, बुद्धिजीवी तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो। महाधिवेशनको प्रमुख आकर्षण विश्वभर छरिएर रहेका श्रमदाताहरूले पठाएका १५ सेकेन्डका शुभकामना भिडियो क्लिप र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले पठाएको विशेष भिडियो सन्देश थियो।

सामाजिक सञ्जालमार्फत जारी सन्देशमा अध्यक्ष राईले अल्डरशटमा हुन लागेको अधिवेशनको पूर्ण सफलताको कामना गर्दै विदेशमा रहेका श्रमिक नेपालीलाई एकजुट गराएर श्रम संस्कृतिको प्रवर्द्धन गर्दै राष्ट्र निर्माणमा योगदान पुर्‍याउने अभियानको प्रशंसा गरेका थिए। हलमा उपस्थित श्रमदाताहरूले उक्त सन्देशलाई उत्साहपूर्वक स्वागत गरेका थिए। कार्यक्रममा सांस्कृतिक प्रस्तुतिसमेत समावेश गरिएको थियो।

दोस्रो सत्रअन्तर्गत भएको अधिवेशनले राम इजमको संयोजकत्वमा इन्द्र राई, महेश वनेम, पारस राना र मान काजी आले सदस्य रहेको निर्वाचन समितिमार्फत नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिमा
अध्यक्ष मनोज पुन, उपाध्यक्षहरू:अनिता राई, राजन भण्डारी, मान मगर, सन्तोष राई र चूडाकर्ण थामसुहाङ, सचिव: डा. महा राई, कोषाध्यक्ष:सुरज राई, सह-कोषाध्यक्ष:मणिकला राई गुरुङ, सदस्यहरू:यदु चन्द्र लावती, ध्रुबसरी राई, दुर्गा खापुङ, डम्बर फागो लिम्बू, आइत लक्ष्मी राई, कला राई, विशाल लिम्बू, गंगा देबी राई, गोविन्द राई र प्रबिन राई रहेका छन्।

कार्यक्रमको संयोजन सन्तोष राईले र सञ्चालन रुपेश काफ्लेले गरेका थिए।

नवनिर्वाचित अध्यक्ष पुनले संस्थालाई सबैको साझा संस्था बनाउने र यूकेमा रहेका नेपाली समुदायको हकहित, श्रमको सम्मान र संस्कृतिको जगेर्नाका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

समारोहमा गैर-आवासीय नेपाली संघ (एनआरएनए) का कार्यवाहक अध्यक्ष तीर्थ मल्ल विशेष अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा सन्तोष राई, मनोज पुन, विश्वकाजी राई, राम इजम, मान मगर, ओमप्रसाद थापा, अनिता राई, महेश वानेम, सुबिना राई र राजन भण्डारीले संस्थाको उद्देश्य र आगामी कार्यदिशाबारे धारणा राखेका थिए।

आयोजकका अनुसार कार्यक्रममा प्रतिनिधिसभा सदस्य राधिका रम्तेल, सांसद पूर्ण लिम्बू, प्रवास प्रमुख तेज राई, केन्द्रीय प्रवक्ता सत्य घले गुरुङलगायत स्पेन, जर्मनी, माल्टा, कतार, यूएई र साइप्रसका श्रम संस्कृति प्रवास समितिहरूबाट शुभकामना सन्देश प्राप्त भएको थियो।

महाधिवेशनले आगामी दिनमा नव-निर्वाचित कार्यसमितिको कार्यक्षमता अभिवृद्धि गर्न र आधुनिक प्रविधिसँग जोड्न एआई (कृत्रिम बौद्धिकता) सम्बन्धी विशेष तालिम प्रदान गर्ने निर्णयसमेत गरेको छ।

कार्यक्रम संयोजक पुनका अनुसार यो केवल सुरुवात हो र आगामी दिनमा SSS UK ले थप रचनात्मक र सामाजिक कार्यक्रमहरू गर्दै जाने योजना छ।

समापनमा अध्यक्ष पुन तथा संयोजक राईले उपस्थित सम्पूर्ण सदस्य, विशेष अतिथि मल्ल, निर्वाचन समिति तथा देश-विदेशबाट शुभकामना सन्देश पठाउने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।

— भूमिराज राई

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम