१८ बैशाख २०८१, मंगलवार
Follow Us

वाम गठबन्धनबाट लोकतन्त्रलाई खतरा : देउवा

sarusaru
२ मंसिर २०७४, शनिबार ०४:४१

मंसिर २, २०७४-प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा प्रजातन्त्र जोगाउन आगामी चुनाव कांग्रेसले जित्नुपर्ने बताएका छन् ।

गठबन्धनले एकदलीय शासन लाद्ने खेलमा लागेको हुनाले लोकतन्त्र खतरा बताउँदै प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा कांग्रेसलाई जिताउनुपर्ने बताएका हुन् । नेपाली कांग्रेस दार्चुलाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न यहाँ आइपुगेका कांग्रेस सभापति देउवाले वाम गठबन्धनका कारण लामो समयपछि देशमा प्राप्त भएको लोकतन्त्र गुम्ने खतरा बढेकाले यही मंसिरमा हुने चुनावमा कांग्रेसलाई विजय गराउन आग्रह गरेका हुन् । कांग्रेस जिते प्रजातन्त्र जिवित रहने र कांग्रेस हारे नागरिकहरुले स्वतन्त्र रुपमा बोल्न समेत नपाइने उनको भनाइ थियो ।

प्रजातान्त्रिक शासन व्यवस्थामा मात्र डर त्रासबाट मुक्त पाइन्छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नेपालको प्रजातान्त्रिक भविष्यका लागि अत्यन्तै महत्वपूर्ण चुनाव हो । उनले भने, ‘यो चुनावमा कांग्रेसलाई जिताए देशमा लोकतन्त्र जिवित रहने र देशले आर्थिक समृद्धि समेत हासिल गर्छ ।’लामो समय राजनीतिबाट खारिएका र जिल्लाको नेतृत्व गर्ने उम्मेदवारहरु चुनावी मैदान आएको हुनाले प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार भोट दिनुपर्ने बताए ।

कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार दिलेन्द्रप्रसाद बडूले जिल्लामा गरिएका सबै विकासको विकास कांग्रेसकै नेतृत्वमा भएको बताए । सडक सञ्जालदेखि जिल्लाको पर्यटकीय पूर्वाधारको महत्वपूर्ण क्षेत्र अपीनाम्पा संरक्षण क्षेत्र आफ्नै पहलमा स्थापना भएको जनाए ।
– कान्तिपुरबाट ।