काठमाडौं । नेपालले साफ यु–१७ च्याम्पियनसिपमा श्रीलङ्कालाई २–० ले पराजित गरेको छ ।
सोमबार कोलम्बोस्थित ‘कोलम्बो रेसकोर्स स्पोर्टस कम्पलेक्स’मा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा नेपाललाई जित दिलाउन दुबै गोल समीर कुमारले गरे । जितसँगै नेपालले सेमिफाइनल यात्रा बलियो बनाएको छ ।
समीरले खेलको ५२औं र ३९औं मिनेटमा गोल गरेका हुन् । खेलको २७ औं मिनेटमा मोहम्मद इफाम दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि श्रीलङ्का १० खेलाडीमा समेटिएको थियो ।
नेपाल समूह ‘ए’ मा रहेको छ। सो समूहमा नेपालसहित श्रीलङ्का र बङ्गलादेश पनि रहेका छन्। समूह ‘ए’ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा बिहीबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
यस प्रतियोगितामा विभाजित दुई समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने प्रावधान रहेको छ । अर्को समूहमा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान रहेका छन् ।