१२ बैशाख २०८१, बुधबार
Follow Us

मधेश एक राष्ट्र हुँदै होइन : केशव झा, महासचिव, राजपा

नेपालब्रिटेन डट कम्
८ मंसिर २०७४, शुक्रबार १०:३९

हिजो बिहीबार जलेश्वरबाट राष्ट्रिय जनता पार्टी (राजपा) को घोषणापत्र सार्वजनिक भयो भन्ने जानकारी मैले मिडियामार्फत् प्राप्त गरेँ । घोषणापत्र सार्वजनिक हुनुभन्दा अगाडि पार्टीका जिम्मेवार व्यक्ति कसैलाई पनि सूचना प्राप्त भएन । हामी चुनाव प्रचार प्रसारमा थियौं, घोषणापत्र सार्वजनिक हुने जानकारी नआएकाले हामी उपस्थित भएनौं । घोषणापत्र निर्माण गर्ने जिम्मा अध्यक्षमण्डललाई दिइएको थियो । तर अध्यक्षमण्डलले अन्य पदाधिकारीलाई यस विषयमा जानकारी नै नगराइ घोषणापत्र सार्वजनिक होला भन्ने कल्पना पनि गरेका थिइँन ।

घोषणपत्रमा उल्लेख भएको ‘बहुराष्ट्रिय’ शब्दप्रति हाम्रो आपत्ति हो । यो विषयले विवाद निकालेको छ । ‘राष्ट्र’ बारे राजनीतिक शास्त्रमा एक प्रकारको परिभाषा छ, त्यसलाई फरक देखाउने काम राजपाको घोषणापत्रले गरेको छ । राज्य भनेको राजनीतिक संयन्त्र हो । यसलाई आफूअनुकूल व्याख्या गर्नु गैरराजनीतिक चरित्र हो ।
राजपाको घोषणापत्रमा राष्ट्रबारे जसरी व्याख्या गरिएको छ, त्यो गलत छ । मधेश एक राष्ट्र हुँदै होइन । त्यसरी हेर्ने हो भने मधेशभित्र अलग अलग राष्ट्र छन् । त्यही व्याख्याअनुसार मिथिला, भोजपुरा र अवध बेग्लाबेग्लै राष्ट्र हो । मधेश एउटा राष्ट्र होइन, जसरी नेपाल बहुराष्ट्रिय भनेर चर्चा गरिएको छ, त्यस्तै प्रकारले मधेश पनि बहुराष्ट्रिय हो । राष्ट्रलाई आफ्नो क्षमताअनुसारको व्याख्या गर्नु हुँदैन ।

वास्तवमा हामीले यही मुलुकमा आफ्नो अधिकार खोजेको हो । समानता र अधिकारको लडाइ लडिरहेका बेला यसरी राष्ट्र र राज्यका बीचमा फरक देखाउनुपर्ने अहिलेको आवश्यकता होइन । संघीयतालाई छोडेर राष्ट्रको कुरामा बल दिनु राम्रो हुँदैन । राष्ट्रको परिभाषाले पार्टीलाई बद्नाम गराउने, अनावश्यक रुपमा विभाजित बनाउन खोजियो । त्यसैले घोषणापत्रको यो पार्टसँग हामी सन्तुष्ट छैनौं ।

घोषणापत्र निर्माणको जिम्मा नेताको हो भन्दैमा अन्य साथीहरुसँग राय सल्लाह नै नगर्ने ? एकतर्फी रुपमा घोषणापत्र सार्वजनिक गर्ने हो भने आखिर हामीले राष्ट्रिय जनता पार्टी बनाइयौं किन ? हामीले ६ वटा पार्टी मिलाएर राजपा बनाएका हौं, अभिभावकले सबैको भावना समेटेर अघि बढ्नु राम्रो हुन्थ्यो ।
संविधान संशोधन हाम्रो माग हो, त्यसका लागि दुईतिहाइ मत चाहिन्छ । हाम्रै कारणले मुलुकमा संघीयता र समावेशिता आएको छ । यसलाई बलियो बनाएर लैजानुपथ्र्यो, तर राष्ट्रका विषयमा नयाँ विवाद उत्पन्न गराएर पार्टीलाई बद्नाम गरियो ।