वीरगञ्ज । पर्सा प्रहरीले ४८ किलो गाँजासहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको छ ।
प्रहरीले पर्साको बहुदरमाई नगरपालिका वडा नं ९ विश्रामपुर बस्ने ३० वर्षीय शर्माप्रसाद कलवार र उसको कान्छो भाइ २७ वर्षीय गम्भीरा साह कलवारलाई सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सामा बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुलाई गाँजासहित सार्वजनिक गरेको थियो ।
शर्मा प्रसादको कोठाबाट २३ किलोग्राम गाँजा, स्ट्यापलर, कैची लगायतका समान र गम्भीराको कोठाबाट २५ किलोग्राम गाँजा, ढक तराजु लगायतका समान बरामद गरेको प्रहरी नायब उपरीक्षक राजन लिम्बुले जानकारी दिए ।
गत पुस १० गते सूचनाको आधारमा प्रहरी नायब उपरीक्षक जीवन लिम्बुको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरुको घरमा छापा मारेको थियो ।
उनीहरु विरुद्ध अदालतबाट लागुऔषध मुद्धामा ४ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा शर्माले आफूले गाँजा किनेर ल्याएर भाईको कोठामा समेत राखेको तथ्य खुल्न आएको प्रहरी उपरीक्षक रेग्मीले बताए । ‘उसले कारोबारीसँग २० हजारमा किनेर ल्याएको रहेछ, ८० हजारमा बिक्री गर्ने सोचमा रहेछन् ।’ लिम्बुले भने ‘घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।’
प्रहरीले तीन जनालाई पक्राउ गरेर ल्याएको भएपनि रकमको चलखेलमा १ जनालाई छोडेको चर्चा छ ।
प्रहरीले उनीहरुसँगै पक्राउ परेका प्रेमप्रसाद कलवारलाई मंगलबार राति नै छाडेको हो । प्रहरीले भने उनी निर्दोष देखिएकोले छोडेको दावी गरेको छ ।
– अनलाइन खबरबाट ।