आईजीपी कार्की : हिजो पत्रकार पक्राउ गर्न प्रहरी खटाए, आज फेसबुकबाट सहकार्यको अपिल
काठमाडौं । पत्रकार पक्राउ गर्ने प्रयास र सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गरिएको घटनाले प्रहरी संगठन विवादमा परिरहेका बेला प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सञ्चारकर्मीसँग सहकार्यको अपिल गरेका छन् ।
उनले शुक्रबार फेसबुकमार्फत सार्वजनिक अपिल जारी गर्दै विपद्को जोखिम न्यूनीकरणका लागि सञ्चारकर्मीसहित सबै पक्षसँग सहकार्य आवश्यक रहेको बताएका हुन् । कार्कीले वर्षा, सम्भावित हावाहुरी र त्यसबाट उत्पन्न हुन सक्ने विपद्को जोखिम न्यूनीकरण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन् ।
विपद्बाट जनधनको सुरक्षा गर्ने काममा नेपाल प्रहरी आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ । ‘यस्तो संवेदनशील समयमा नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गर्दै क्षति न्यूनीकरण गर्न सञ्चारकर्मी साथीहरूको महत्त्वपूर्ण भूमिका रहन्छ,’ उनले लेखेका छन् ।
उनले सञ्चारकर्मीबाट निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्दै सञ्चारकर्ममा कुनै पनि प्रकारको बाधा नपुग्ने वातावरण बनाउन नेपाल प्रहरी दृढ प्रतिबद्ध रहेको बताएका छन् । आईजीपी कार्कीको यो अपिल पत्रकारमाथि धरपकडको प्रयास र सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गरिएको घटनापछि आएको हो ।
बिहीबार पत्रकार नवराज मैनालीलाई पक्राउ गर्न प्रहरी टोली काठमाडौंको पुतलीसडकस्थित नयाँ पत्रिकाको कार्यालय पुगेको थियो । चौतर्फी विरोधपछि प्रहरी टोली उनलाई पक्राउ नगरी फर्किएको थियो । त्यसैगरी, पत्रकार विश्वमणि सुवेदीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । दबाब परेपछि उनलाई शुक्रबार नै रिहा गरिएको थियो ।
पत्रकार पक्राउ र सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालनको घटनाले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै पत्रकार महासंघ, प्रेस काउन्सिलसहित विभिन्न पक्षले विरोध जनाएका छन् । यसैबीच, प्रधानमन्त्री कार्यालयले पत्रकार पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको भन्ने विषयमा आफूलाई जानकारी नभएको जनाएको थियो ।
प्रधानमन्त्री कार्यालयको यस्तो भनाइ र प्रहरीको कारबाहीबीच घटनाको जिम्मेवारी तथा निर्देशनको विषयमा समेत प्रश्न उठेको छ । पत्रकार पक्राउ र सञ्चारमाध्यममाथिको प्रहरी हस्तक्षेपको विरोध भइरहेका बेला आईजीपी कार्कीले सञ्चारकर्ममा बाधा नपुग्ने वातावरण बनाउन प्रहरी प्रतिबद्ध रहेको बताए ।

