२१ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत

नेपालब्रिटेन संवाददाता
११ श्रावण २०७५, शुक्रबार १५:००

काठमाडौं । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उक्त विधेयक प्रस्तुत गरेका हुन् । डा. गोविन्द केसीको माग र प्राडा केदारभक्त माथेमा कार्यदलको प्रतिवेदन अनुसार उक्त विधेयक संशोधन गरेर पारित गर्ने यसअघि नै सहमति भएको छ ।

यो विषयमा संसद र सडकमा व्यापक बहस भएको छ । यसै विषयलाई लिएर पछिल्लो पटक केसी २७ दिन अनशन बसेका थिए । उनको यो १५औँ अनशन थियो । ‘चिकित्सा शिक्षाको क्षेत्रमा सरकारको लगानीलाई अभिवृद्धि गर्दै चिकित्सा शिक्षालाई नेपालको राष्ट्रिय आवश्यकता अनुरुप विकास गर्न’, उक्त विधेयक ल्याइएको मन्त्री पोखरेलले जानकारी दिए ।

मन्त्री पोखरेलले विधेयकमा चिकित्सा शिक्षासम्बन्धि शिक्षण संस्थालाई व्यवस्थित र नियमन, स्थापना गर्न एवं चिकित्सा शिक्षाको नियमनलाई एकीकृत तथा व्यवस्थित बनाउन राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याएको बताए। विधेयकमा चिकित्सा शिक्षाको गुणस्तर, पेसाधर्मिता र पेशागत जवाफदेहितालाई व्यवस्थित गरिएको बताए ।

उनले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले विपन्नको पहुँचमा यो शिक्षा पुर्‍याउने उद्येश्य लिइएको बताए। प्रतिनिधिसभाको बैठक १३ गते आइतबारसम्मका लागि स्थगित भएको छ।