२४ बैशाख २०८१, सोमबार
Follow Us

आजदेखि नयाँ मुलुकी ऐन लागू, खुसीयालीमा दीपावली गरिँदै

नेपालब्रिटेन संवाददाता
१ भाद्र २०७५, शुक्रबार ०५:०५

काठमाडौं । एक सय ६५ वर्ष पूरानो मुलुकी ऐनलाई विस्थापित गर्दै आजदेखि नयाँ मुलुकी ऐन लागू भएको छ । संसदले गएको साउन २६ गते पारित गरेको मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता आजबाट लागू भएको हो । यी दुई संहिताका कार्यविधि कानुन, ‘फौजदारी कसुरमा सजाय निर्धारण तथा कार्यान्वयन गर्ने ऐन र केही नेपाल समायोजन तथा खारेज गर्ने ऐन’ लागू भएका छन् ।

नयाँ ऐन लागू भएसँगै नागरिक ऐन, गाली बेइज्जती ऐन, सार्वजनिक अपराध तथा सजाय ऐन, करार ऐन लगायत १५ वटा पूराना कानुन खारेज भएका छन् । नयाँ कानुन लागू भएको दिन आज सरकारले उत्सवका रुपमा मनाउने भएको छ । आज दिउँसो २ बजे सिंहदरबारको ग्यालरी बैठकमा कार्यक्रम राखिएको छ । कार्यक्रममा प्रधानमन्त्री ओली, कायम मुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, कानमन्त्रीलगायतको सहभागिता रहने कानुन मन्त्रालयका प्रवक्ता रमेश ढकालले बताउनु भयो ।

यसैबीच, महान्यायाधिवक्ता कार्यालयले मुलुकी देवानी र अपराध संहितालगायत पाँच कानून लागू हुन लागेको खुशियालीमा आज देशैभर दीपावली गर्ने तयारी गरेको छ । महान्यायाधिवक्ता कार्यालयले जारी गरेको विज्ञप्तिमा मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ समेतका कानून आजदेखि लागू हुन लागेको सन्दर्भमा पहिलो दिन देशव्यापीरूपमा दीपावली मनाउन लागेको उल्लेख छ ।

महान्यायाधिवक्ता कार्यालयअन्तर्गतका ७७ वटै जिल्ला सरकारी वकिल कार्यालय, १८ वटा उच्च सरकारी वकिल कार्यालय, राजधानी काठमाडौंस्थित विशेष सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ताको कार्यालयमा दीपावली गरिने महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

सरोकारवालाका बीचमा संहिताका मुख्य विशेषताका बारेमा अन्तक्र्रिया कार्यक्रम गर्न महान्यायाधिवक्ताको कार्यालयले देशैभरका कार्यालयलाई निर्देशन दिएको छ ।