१० भाद्र २०८२, मंगलवार
Follow Us

घुस रकमसहित अमिन पक्राउ

nepalbritain news
१० आश्विन २०७५, बुधबार ०२:२४

सर्लाही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार नापी कार्यालय सर्लाही, सेवा केन्द्र हरिवनका एक कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सेवा केन्द्रका अमिन किशुनदेव मण्डल रहेको छ । आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीसँग लिएको घुस रकम नौ हजारसहित उनलाई पक्राउ गरेको हो ।

अंशवण्डा पत्रका लागि जग्गा कित्ताकाट गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाका आधारमा मण्डललाई पक्राउ गरेको जनाएको छ ।

हरिपुर नगरपालिका–८ का सत्यनारायण महतो र शिव नारायण महतो दाजुभाइको अंशबण्डाका लागि मण्डलले रु १५ हजार घुस मागेको तर महतो दाजुभाइले मालपोत कार्यालय सेवा केन्द्र हरिवनमै लेखापढीको काम गर्ने रामबहादुर महतोमार्फत रु नौ हजार दिएको शिव नारायण महतोले बताउनुभयो ।

आफू १० दिनदेखि जग्गाको कित्ताकाटका लागि धाउँदा पनि काम नभएपछि अख्तियारमा खबर गरेर घुस दिन बाध्य भएको पनि उहाँले बताउनुभयो ।
रासस

धेरै पढिएको