लन्डन । बेलायतस्थित नेपाली दूतावासले मंगलवार नेपाली समूदाय र कुटनीतिज्ञमाझ नेपालको राष्ट्रिय दिवस मनाएको छ । नेपाली दूतावास भवनमा आयोजित कार्यक्रममा बोल्दै बेलायतका लागि कार्यवहाक राजदूत शरदराज आरनले नेपाल र बेलायतको सम्वन्ध झन् मजवुत बन्दै गएको बताए । उनले बेलायत नेपालबीच लामो ऐतिहासिक सम्वन्ध रहेको बताउंदै यस वर्ष दुई देशबीच कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष मनाइएको अवगत गराए । कार्यक्रममा विशेष अतिथी बेलायती विदेश मन्त्रालयकी दक्षिण एसिया प्रमुख लाउरा क्लार्कले बेलायत सरकारको प्रतिनिधित्व गर्दै दुई शताब्दीदेखि बेलायत नेपाल सम्वन्ध ज्यादै बलियो रहेको उल्लेख गरिन् ।
उनले बेलायतमा नेपाली जनसंख्या ८० हजार बढि रहेको र प्रत्येक वर्ष करिब ३० हजार बेलायती नेपाल भ्रमणमा जानुले पनि आपसी सम्वन्ध प्रगाढ रहेको पुष्टि गरेको उल्लेख गरिन् ।
अट्याची तेजेन्द्र रेग्मीले सञ्चालन गरेको उक्त कार्यक्रममा गैरआवासीय नेपाली सँघका सल्लाहाकार विश्वआर्दश पण्डित, एनआरएन संस्थापक चिरन्जीबी ढकाल, नेपाली जनसम्पर्क समिति बेलायतका सभापति लोक गुरुङ, एनआरएन युकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, ब्यवसायी कमल भण्डारी, पशुपति भण्डारी, तमूधिं यूकेका उपाध्यक्ष ज्ञाम गुरुङ, मिस यूके नेपाल तनिसा राना, विदेशी कुटनीतिज्ञहरु, बेलायती विदेश मन्त्रालय, गृह मन्त्रालय, संचारकर्मी, लगायतका विशिष्ठ पदाधिकारीसहभागी थिए ।
नेपालमा नयां संविधान जारी गरिएको दिनलाई नेपाल सरकारले राष्ट्रिय दिवस (नेशनल डे) मनाउने निर्णय गरे बमोजिम दूतावासले कार्यक्रम गरेको हो ।