२१ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल-बेलायत युद्धको २०४ वर्ष

नेपालब्रिटेन डट कम्
१३ मंसिर २०७५, बिहीबार ०१:१६


पर्शुराम काफ्ले ।

देहरादुन | देहरादुनको खलंगास्थित नालापानी किल्ला । सन् १८१४ अक्टोबर ३१ देखि नोभेम्बर अन्तिम सातासम्म नेपाल र ब्रिटिस इन्डिया फौजबीच लडाइँ भएको थियो । तर, आइतबार भने त्यहाँ फरक दृश्य थियो । नालापानी किल्लाका नेपाली कमान्डर बलभद्र कुँवर र तत्कालीन नेपाली फौजको सम्मान भइरहेको थियो ।

अंग्रेज सेना सन् १७६७ को सिन्धुलीगढी युद्धमा हार खाएर फर्केको थियो । त्यसको ४७ वर्षपछि ब्रिटिस फौजले नेपालविरुद्ध युद्धको घोषणा गरेको थियो । त्यसपछि पहिलो लडाइँ नालापानीमा भयो । एक महिनासम्म युद्ध चल्यो । लडेर किल्ला कब्जा गर्न नसकेपछि अंग्रेजले पानीको मुहान थुन्यो । पानी पनि पिउन नसकेपछि नेपाली बाहिर निस्किन बाध्य भए ।

डटेर लड्ने तिनै वीर बलभद्र र नेपाली फौजलाई आइतबार नालापानीमा सम्झना गरिएको हो । देहरादुनको खलंगास्थित नालापानी किल्लामा नेपालीभाषी समुदायले झन्डासहित पैदलयात्रा गरे । भारतीय गोर्खा सैनिकका पूर्वअधिकारी र नेपालीभाषी राजनीतिक अगुवाले खलंगा स्मारकमा माल्यार्पण गरे । कार्यक्रममा स्थानीय गैरनेपालीभाषी पनि सहभागी थिए ।

डेमोक्रेटिक फ्रन्ट देहरादुनका अध्यक्ष सूर्यविक्रम शाहीका अनुसार २०६६ सालमा नालापानी किल्लामा स्मारक निर्माण भएको हो । स्मारक बनाउन उत्तराखण्डका मुख्यमन्त्री नारायणदत्त तिवारीले १० लाख ५३ हजार र तत्कालीन सांसद (पछि मुख्यमन्त्री) विजय बहुगुणाले पाँच लाख रुपैयाँ दिएका थिए । बलभद्र खलंगा नालापानी विकास समितिको अगुवाइमा स्मारक निर्माण भएको हो । त्यतिवेला बलभद्र कुँवरले निर्माण गरेको र पूजापाठ गर्ने गरेको इन्द्रायणी मन्दिरमा पनि पूजापाठ सुरु भएको छ । खलंगा मेलामा आइतबार उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावत सहभागी भए । तर, त्यहाँभन्दा दुई किलोमिटरमाथि नालापानीमा भएको बलभद्र सम्मान कार्यक्रममा भने सहभागी भएनन् ।

देहरादुन सहरमा करिब पाँच लाख गोर्खा समुदाय छन् । उत्तराखण्ड राज्यमा भने करिब १५ लाख गोर्खा समुदाय छन् । डेमोक्रेटिक फ्रन्ट देहरादुनका अध्यक्ष शाहीका अनुसार यहाँका गैरनेपालीभाषी समुदायले अझै पनि नालापानी युद्धलाई आफूविरुद्ध गोर्खालीले गरेको युद्धका रूपमा बुझ्ने गरेका छन् ।

इतिहासबारे जानकार सिक्किमका पिएन शेर्पाले नालापानीको संरक्षण र सम्वद्र्धन अपेक्षाकृत हुन नसके पनि भारत सरकारले यसको पुरातात्विक संरक्षणमा चासो देखाएको बताए । भारत सरकारले छुट्याएको सहयोगमा स्मारक निर्माण भएको छ । मसुरीस्थित तबन विभागसँगको समन्वयमा सडक पिच गरिएको छ । अब यो क्षेत्रलाई पुरातात्विक महत्वकाे सूचीमा राख्ने विश्वास गरिएको छ ।


नालापानी लडाइँको प्रभाव

नालापानी लडाइँमा इस्ट इन्डिया कम्पनीका मेजर जनरल जिलेस्पीको मृत्यु भएको थियो । इतिहासका जानकार शेर्पाको विश्लेषणमा जिलेस्पीको मृत्यु नभएको भए नेपालमा पनि ब्रिटिस उपनिवेश फैलिन सक्ने अवस्था थियो । ‘नालापानीमा पनि युद्ध लडेर ब्रिटिसले जितेको होइन, पानीको मुहान थुनेर अप्ठ्यारोमा पारेको हो,’ शेर्पाले भने, ‘यो स्थानको बारेमा जानकारी नहुँदा ब्रिटिसले क्षति बेहोरेको हो । नालापानी किल्ला रणनीतिक रूपमा मजबुत र महत्वपूर्ण ठाउँ थियो ।’ त्यसवेला मेचीपारि र महाकालीपारि ६ स्थानमा लडाइँ भएको थियो । जानकारहरूका अनुसार तीन कारण नालापानीको युद्ध अद्भूत थियो । पहिलो, युद्धमा सैनिक मात्र नभएर गोर्खाली फौजसित परिवारै संलग्न थिए ।

दोस्रो, युद्धमा मुख्य कमान्डर मारिएको अत्यन्तै कम घटना छ । अर्को लडाइँमा कीर्तिमानी रचेर आएका मेजर जनरल जिलेस्पीको मृत्यु आफैँमा अनौठो घटना थियोे । तेस्रो, शत्रुफौज र त्यसका कमान्डरको बहादुरीको प्रशंसायुक्त वर्णन कहिल्यै गरिँदैन । यहाँ अंग्रेजले क्याप्टेन बलभद्र कुँवरसहित गोर्खाली फौजको वीरताको प्रशंसामा शिलालेख नै लेखेको छ । सहश्रधारा रोडस्थित खलंगा पार्कमा शिलालेख सुरक्षित र संरक्षित अवस्थामा छ ।

पन्जाबसम्मै विजयी
तत्कालीन नेपाली गोर्खा फौजले सन् १७९० मा कुमाउ पहाड जितेका थिए । सन् १८०४ मा गढवाल र त्यसपछि पन्जाब हिल स्टेट पनि जितेर शासन चलाए । सन् १८१४ को मध्यअक्टोबरमा बेलायतले नेपालसँगको सम्बन्ध अन्त्य गर्दै युद्ध घोषणा ग¥यो । सेनाका चार डिभिजन नेपालविरुद्ध लडाइँमा खटायो । तेस्रो डिभिजनअन्तर्गतको फौज देहरादुनको मेरठमा रहेर नालापानी खटाइए । सो फौजको नेतृत्व मेजर जनरल रोलो जिलेस्पीले गरेका थिए । तर, लडाइँमा उनी सुरुमै मारिए ।

भारतीय गोर्खाका पूर्वअधिकृत राजेन्द्र खँडुरीद्वारा लिखित पुस्तक ‘रिडिस्कोभर्ड हिस्टरी अफ गोर्खाज’का अनुसार नालापानीमा गोर्खाली र ब्रिटिस फौजबीच १८१४ अक्टोबर ३१ मा पहिलो लडाइँ भयो । पहिलो दिन ४८ वर्षीय जनरल जिलेस्पीसहित चारजना ब्रिटिस मारिए । ८८ जना घाइते भए । ब्रिटिसका लागि त्यो ठूलो सेटब्याक थियो ।

शत्रुको सम्मानमा शिलालेख

जानकारहरूका अनुसार नालापानीमा करिब चार सय ८० जना सैनिक र बाँकी महिला, केटाकेटीसहित सैनिक परिवार सामेल थिए । नेपाली पक्षसँग खुकुरी, ढाल, तरबार, भरुवा बन्दुक र भाला मात्रै थियो । ब्रिटिस सेनातर्फ ३५ सय फौज, अत्याधुनिक हतियार र तोप थियो । यो यस्तो युद्ध थियो कि नेपालीहरूको पराक्रम देखेर अंग्रेजले वीर बलभद्र कुँवरको सम्झनामा शिलालेख लेखेर छाडे । अहिले खलंगा स्मारक पार्कमा सुरक्षित राखिएको शिलालेखमा भनिएको छ ः हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोर्खालीहरूको स्मृतिमा सम्मान उपहार ।
– नयाँपत्रिका
देहरादुन, नालापानीबाट