२८ बैशाख २०८१, शुक्रबार
Follow Us

वेलायतमा कांग्रेसले मनायो मेलमिलाप दिवस

नेपालब्रिटेन डट कम्
१७ पुष २०७५, मंगलवार २०:२७

लण्डन । वेलायतस्थित नेपाली कांग्रेसको भातृसँस्था नेपाली जनसम्पर्क समितिले ४३ औं राष्ट्रिय दिवस मनाएको छ । नेपाली कांग्रेस पार्टीका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुको बाक्लो उपस्थितिमा नेपाली जनसम्पर्क समिति बेलायतले ४३ औं राष्ट्रिय मेलमिलाप दिवस गत आइतवार मनाएको हो ।
अल्डरशटको भेटघाट रेष्टरेन्टमा आयोजित कार्यक्रममा पूर्व संबिधान सभाका सभासद नगेन्द्र कुमार कुमाल प्रमुख अतिथि थिए ।

कार्यक्रमको बिशेष अतिथिको रुपमा बोल्दै नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष जंग सुनुवारले बि स २०३० को दशकको मध्यमा बीपीको नेतृत्वमा चलेको प्रजातन्त्र पुनस्र्थापनाको जनलहरको स्मरण गरे । जनसम्पर्क समिति वेलायतका सल्लाहकार डा. सम्पूर्णानन्द ढुंगानाले ‘जुन राजाले आफ्नो हजुरबुवाको निर्वासनपछि सर्बस्वहरण गरे, जुन राजाले आफ्नो राजनैतिक स्वतन्त्रता समेत लुटे, तिनै राजाको शासनकालमा तीन बर्षभित्रमा जनमत संग्रह गराउन सक्नु नै उनको नेतृत्व र ब्यक्तित्वको उचाई रहेको’ बताए। उनले त्यस्ता महामानवको मेलमिलापको नीति बमोजिम आज पार्टी र कार्यकर्ताहरु कति चल्न सकेको छ त्यसको समिक्षाको आवश्यक रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि नगेन्द्र कुमार कुमालले राष्ट्रियताको सवालमा आफ्नो बिरोधीहरुसंग समेत मिलेर अघि बढ्नु पर्ने जरुरी भएको भन्दै बीपीले तत्कालीन अवस्थामा सोही नीतिको अबलम्बन गरेको स्पष्ट पारे । “जब नेपालबिरुद्द भारतले षडयन्त्र गर्न थाल्यो तब नेपाललाई आजको सिक्किम जस्तो बन्न नदिन आफ्नो ज्यानको पर्वाह नगरी २०३३ मा नेपाल फर्किनु भयो । उनको त्यो त्याग र साहस नभएको भए नत ३६ सालको जनमत संग्रह हुन्थ्यो, नत ४६ को आन्दोलन हुन्थ्यो, नत त्यसपछिका राजनैतिक परिवर्तनहरु नै । बीपीको चिन्तन र दुरदर्शन बिना आज हामी न जनजाति, न दलित, न महिला र न समाबेशिता कुरा नै गर्न पाउँथ्यौं”, नेता कुमालले आफ्ना बिचार राखे ।

अन्य वक्ताहरु एनआरएनए यूकेका उपाध्यक्ष शेर सुनार, नेपाली कांग्रेस महासमिति सदस्य खोटाङका रबी प्रकाश राई, एनपीसीसी यूकेका सल्लाहकार चिरञ्जीवी ढकाल, पूर्व सभापतिद्धय बिनोद राज मोक्तान र लोक गुरुङ र महामन्त्री प्रबेश केसीले स्व बीपी कोइरालाको मेलमिलापको सन्देश देश, पार्टी र साधारण जीवनमा सबै लोकतन्त्रवादीहरुले अनुशरण गर्न जरुरी भएको उल्लेख गरे । महामन्त्री सूर्य तामाङको सञ्चालनमा भएको कार्यक्रममा कार्यक्रममा बेलायतस्थिति एनपीसीसी यूकेका बहुसंख्यक कार्यकर्ताहरुको उपस्थिति रह्यो ।

कार्यक्रमको अवसरमा समितिले गत बैठकमा नियुक्त गरेका सल्लाहकारहरु र केन्द्रिय सभाका सदस्यहलाई जनसम्पर्क समितिका सभापति युवराज गुरुङले खादा लगाइदिएर बधाई दिए । सभा बिसर्जनको क्रममा सभापति युवराज गुरुङले ४३ औं राष्ट्रिय मेलमिलाप दिवस कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।
– खुशि लिम्बु