२० बैशाख २०८१, बिहीबार
Follow Us

आफ्नो उमेद्वारी बारे छलफल गर्न एनआरएन उपाध्यक्ष पन्त बेल्जियममा

नेपालब्रिटेन डट कम्
१९ जेष्ठ २०७६, आईतवार १९:१८

बेल्जियम– गैरआवासीय नेपाली संघ (एनआरएन) का उपाध्यक्ष कुमार पन्तले आगामी अक्टोबरमा हुने नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा अध्यक्षमा आफ्नो उम्मेदवारी रहने बताएका छन् । उनले निर्वाचनमा जाँदा कुनै टीम वा प्यानल बनाएर जाने पक्षमा भने आफू नरहेको बताएका छन् ।

‘एनआरएनको विधानमा टीम बनाएर चुनावमा भाग लिन नपाइने व्यवस्था छ । म आफू निर्वाचन प्रक्रियामा गएको खण्डमा टीम नबनाइकन चुनावमा सहभागी हुने जानकारी गराउँछु’, बेल्जियममा आइतबार आयोजित अन्तर्क्रिया कार्यक्रममा पन्तले भने, ‘व्यक्तिगत रुपमा मेरो कुनै साथी आईदिए हुन्थ्यो भन्ने चाहना हुनसक्छ । त्यो चाहना मेरो मनभित्रको चाहना हुनसक्छ । तर मेरो टीम यो छ फलानो फलानोलाई भोट लिनस् भनेरचाहिँ नभन्ने कुरा जानकारी गराउन चाहान्छु ।’

विधानमै टीम बनाएर जान नपाइने भनिएपनि विभिन्न गलत बाटोबाट प्यानल खडा गर्ने काम गरिनु गलत हुने उनको भनाई छ ।
उनले एनआरएनबाट नेपालमा धेरै लगानी भित्रिसकेको भन्दै अब सामूहिक लगानीपनि भित्र्याउन लागेको बताए ।

‘एनआरएनकै लगानीमा मिडिया, हाइड्रो, बैंक, हस्पिटालिटीलगायतका व्यक्तिगत रुपमा लगानी भएका छन्’ पन्तले भने, ‘अहिले सामूहिक लगानीको रुपमा फण्ड बनाएर लगानी गर्नेगरी नेपाल सरकारसँग सहमति भएको छ । यसबाट धेरैभन्दा एनआरएनले शेयर हालेर लगानीकर्ता बन्न सक्नुहुन्छ ।’ उनले एनआरएनले विदेशमा सिकेको ज्ञान सिप र प्रविधिलाई नेपाल लैजाने पनि बताए ।

एनआरएनले अघि सारेको भिजन २०२० को एजेण्डालाई अनुसरण गर्ने हो अरु एजेण्डा नै आवश्यक नपर्ने भन्दै पन्तले अहिलेको मुख्य चुनौति भनेको सदस्यतालाई व्यवस्थित गर्नु भएको बताए ।

त्यसका लागि अनलाइन सिस्टममार्फत सदस्यता नवीकरणको प्रक्रिया थालिएको बताउँदै उनले नेपालका विज्ञ तथा वकील राखेर एमओएस सीस्टम लागू गरिएको बताए । डाटाहरुलाई लिक नहुने गरी काम गरिएको पनि उनको भनाई छ ।

एनआरएनए बेल्जियमको आयोजनामा आइतवार भएको कार्यक्रममा प्रमुख अतिथि पन्त रहेका थिए भने विशेष अतिथि आईसीसी सचिव जानकी गुरुङ र युरोप संयोजक शिवकुमार बरुवाल रहेका थिए । कार्यक्रम एनसीसी बेल्जियमका अध्यक्ष लोकप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा स्वागत मन्तब्य कमल पन्थीले दिएका थिए भने संचालन दिपेन्द्र केसीले गरेका थिए । यस्तै एनआरएन बेल्जियमको बिधान समितिका संयोजक गंगाधर गौतमले संसोधित बिधान पन्तलाई हस्तान्तरण गरेका थिए ।