१ श्रावण २०८२, बिहीबार
Follow Us

च्याउको बीउ उत्पादन केन्द्र सञ्चालन

nepalbritain news
१ असार २०७६, आईतवार ०४:२९

तुलसीपुर । दाङको राप्ती गाउँपालिका–४ मौरीघाटमा च्याउको बीउ उत्पादन केन्द्र सञ्चालनमा आएको छ। स्थानीयवासी दोर्ण जिसीले बहुउद्देश्य कृषि तथा च्याउखेती फार्म स्थापना गरी व्यवसाय सञ्चालन गरेका हुन् ।

दाङमै च्याउको बीउ उत्पादन गर्न थालिएपछि यस क्षेत्रका किसानलाई सहज हुने भएको छ । “यसअघि च्याउको बीउ ल्याउन जिल्ला बाहिर जानुपर्ने अवस्था थियो”, जिसीले भने, “तर अहिले हामीले च्याउको बीउ उत्पादन गर्न थालेपछि दाङका सबैले यहीबाट लिने गरेका छन्।”

शिक्षक पेशामा आबद्ध जिसीले विसं २०६० देखि च्याउखेती शुरु गरेपनि भर्खरै मात्रै च्याउको बीउ उत्पादन शुरु गरेका हुन् ।

उनले बीउ उत्पादनबाटै मासिक रु एक लाखसम्म आम्दानी गर्ने गरेको बताए । “यसअघि मैले च्याउ उत्पादन फार्म सञ्चालन गरेको थिएँ”, उनले भने, “तर अहिले च्याउको बीउ पनि उत्पादन गर्ने गरेको छु, च्याउको बीउबाट मात्रै मासिक रु एक लाख जति आम्दानी हुने गरेको छ।”

उनले जाडो मौसममा हुने विभिन्न जातका आइस्ट्रल च्याउ, बटम च्याउ र गर्मी मौसममा हुने दुधे च्याउको बीउ उत्पादन गर्ने गरेको बताए। एक हजार क्विन्टल गहुँको बीउबाट मासिक पाँच हजार पोका बीउ उत्पादन हुने जिसीको भनाइ छ।

नेपालको नार्क र भारतको पन्तनगरबाट तीन महीनाको प्राविधिक ज्ञान हासिल गरेर च्याउको बीउ उत्पादन शुरु गरेको उनले बताए। उनले उत्पादन गरेको च्याउको बीउ दाङसहित प्यूठान, रुकुम, रोल्पा, सल्यान, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली र धनगढीसम्मसमेत निर्यात हुने गरेको छ।

जिसीको च्याउ फार्ममा अहिले तीनदेखि पाँच युवाले रोजगारीसमेत पाएका छन् । स्वदेशमै राम्रो उत्पादन गर्न सकिन्छ भन्ने सोच बनाएर यो पेशा अङ्गालेको उहाँको भनाइ छ।
डिसी नेपाल

धेरै पढिएको