१८ बैशाख २०८१, मंगलवार
Follow Us

करेन्ट लागेर मृत्यु

sarusaru
६ असार २०७६, शुक्रबार ०५:५९

महोत्तरी जिल्लाको सरपल्लो–मनरा सडकखण्डमा गए राति एक तेल ट्याङ्करका सहचालकको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–८ घर भई तेल ट्याङ्करको सहचालकको रुपमा काम गर्दै आएका २५ वर्षीय उमेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताउनुभयो ।

गए राति करीब ८ बजेतिर ना७ख ११९५ नंको ट्याङ्कर तेल लिएर जिल्लाको सरपल्लो बजारबाट मनरा बजार जाँदै गरेको अवस्थामा मनरासिस्वा नगरपालिका–८ स्थित सडकमा पोलमाथि रहेको विद्युतको तार ठाउँठाउँमा झोल्लिन गई ट्याङ्करमा छुन खोज्दा ट्याङ्करका सहचालकले तार पन्छाउन ट्याङ्कर माथि चढेका थिए । तर विद्युतीय तार पन्छाइरहेकै बेला विद्युत् चुहिएर अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए ।

करेन्ट लागी गम्भीर घाइते सहचालक यादवलाई तत्काल उपचार लागि जिल्ला अस्पताल जलेश्वर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो । मृतक यादवको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।
रासस