२९ बैशाख २०८१, शनिबार
Follow Us

दूतावासकाे पत्र आउनु सामान्य : सरकार

नेपालब्रिटेन डट कम्
२५ असार २०७६, बुधबार ०३:११

काठमाडौँ – सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गर्न भारतीय दूतावासबाट सरकारलाई पत्र आएको स्वीकार गरेका छन् । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि बाँस्कोटाले दुई देशका सरकारबीच पत्र आउजाउ हुने कुरा स्वाभाविक हुने भएकाले त्यसलाई अन्यथा लिन नहुने बताए ।

‘सीमा जोडिएका दुई मुलुकबीच आआफ्नो इन्ट्रेस्टका विषय हुन्छन् । दुई सरकारबीच पत्रहरू आउने/जाने चलिरहन्छ,’ बाँस्कोटाले भने, त्यस्ता विषयमा हुने पत्रको आदानप्रदानलाई सरकारले स्वाभाविक रूपमा लिएको छ । त्यसलाई कसैले पनि अन्यथा रूपमा लिनुहुँदैन ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले भने दूतावासको पत्र नपठाएको र दबाब नआएको दाबी गरेका थिए । १४ गते दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको सातापछि गत शनिबार संसदीय दलको बैठकमा नेकपा सांसदले ‘सरकार भारतसँग झुकेर विषादी परीक्षण रोकेको हो ?’ भन्ने प्रश्न गरेपछि जवाफमा ओलीले भनेका थिए, ‘कतै कसैको दबाबका आधारमा तरकारी र फलफूलको विषादी परीक्षणबाट सरकार पछि हटेको होइन । भारतबाट पत्र आयो रे । खोइ कसलाई पत्र आयो ? कसलेपढ्यो त्यो पत्र ? मलाई थाहा छैन ।’ कान्तिपुरमा खबर छ ।