२० बैशाख २०८१, बिहीबार
Follow Us

काठमाडौंको सुरक्षा व्यवस्था अत्यन्त कडा

नेपालब्रिटेन डट कम्
१७ कार्तिक २०७३, बुधबार ०९:०४

काठमाडौं । भारतका राष्ट्राध्यक्ष तीन दिने राजकीय भ्रमणका लागि नेपाल आइपुगेका छन् । समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतका १३ औं राष्ट्रपति प्रणव मुखर्जी आज मध्यान्ह काठमाडौं ओर्लिएका हुन् । मुखर्जी मध्यान्ह १२ बजेर पच्चीस मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिदा उनको स्वागतका लागि राष्ट्रपति भण्डारी नै अति विशिष्ठ कक्षमा पुगेकी थिइन् ।

मुखर्जीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्रीहरु, उच्च सरकारी अधिकारी विमानस्थल पुगेका थिए । मुखर्जीको सम्मानमा नेपाली सेनाको टुकडीले विशेष सम्मान गारथ अर्पण गरेको थियो ।
मुखर्जी नेतृत्वको उच्चस्तरीय भ्रमण दलमा रक्षा राज्यमन्त्री सुवास घाम्री, लोकसभा र राज्यसभाका चार सदस्य, भारतको राष्ट्रपति कार्यालयका सचिव एस जयशंकर, विदेश मन्त्रालयका सचिव अमिपा पलसहित ६० जना सम्मिलित छन् । भ्रमण दलमा भारतको सुरक्षा निकायका उच्च अधिकारी, विदेश मन्त्रालयका पदाधिकारी एवम् सञ्चारकर्मी पनि सहभागी छन् । मुखर्जीको सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ । १८ वर्षपछि भारतीय राष्ट्रपतिले नेपाल भ्रमण गरेका हुन् । यसअघि २०५५ सालमा भारतीय राष्ट्रपति केआर नारायनन्ले नेपाल भ्रमण गरेका थिए ।

राष्ट्रपति– मुखर्जी भेटभाट
राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय समकक्षी प्रणव मुखर्जीबीच शीतलनिवासमा भेटवार्ता भइरहेको छ । विमानस्थलबाट सिधै शीतलनिवास पुगेका दुई राष्ट्राध्यक्षबीच आपसी चासो, हित, चासो र सम्बन्धका विषयमा छलफल भइरहेको हो । उपराष्ट्रपति नन्दबहदुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालले ह्यात होटलमा भारतीय राष्ट्रपति मुखर्जीसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै छन् । समकक्षी मुखर्जीको सम्मानमा राष्ट्रपति भण्डारीले आजै सोल्टी होटलमा ‘स्टेट ब्याङक्वीट’ आयोजना गरेकी छन् । बिहीबार विहान पशुपतिनाथ मन्दिरको पूजा–अर्चनामा सहभागि हुने राष्ट्रपति मुखर्जी दिउँसो काठमाडौं विश्वविद्यालयले प्रदान गर्न लागेको मानार्थ उपाधि ग्रहण कार्यक्रममा सहभागि हुने छन् । काठमाडौं महानगरपालिकाले विहीवार नै उनको नागरिक अभिनन्दन गर्दै छ । नेपालमा रहँदा भारतीय राष्ट्रपति मुखर्जीसँग राजनीतिक दलका नेताहरुले शिष्टाचार भेट गर्ने छन् ।

सडक खाली
भारतीय राष्ट्रपति प्रणव मुखर्जी आउँदा आज काठमाडौंको सवारी आवागमन प्रभावित भएको छ । विभिन्न रुटमा सवारी चलाउन रोक लगाएको ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न सुझाएको छ । वैकल्पिक मार्ग प्रयोग गर्न भनेपनि चक्रपथभित्र दिनभर सवारी चल्ने सम्भावना कम छ । भीभीआईपी र भीआईपीको सवारी हुने भएकाले दिनभर चक्रपथभित्र निजी तथा सार्वजनिक सवारी चल्ने सम्भावना नरहेको हो । काठमाडौंका सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ । नेपाली सेनाको नेतृत्वमा चार वटै सुरक्षा निकाय परिचालन गरिएको छ । भारतीय राष्ट्रपति सवारी हुने रुटमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । सडकका दायाँ–बायाँ किनारमा रहेका अग्ला भवनमा सुरक्षाकर्मी राखिएको छ । चक्रपथभित्र भारतीय राष्ट्रपति मुखर्जीको सवारी हुने रुटमा सार्वसाधारणलाई पैदल हिड्न समेत रोक लगाइएको छ । यतिबेला सडक सुनसान छ । मुखर्जीको सवारीमा ज्यामरसहितका कार्केड हुनेछ । मोबाइल सिग्नल ज्यामरका कारणले एक सय मिटर वरपरको टेलिफोनससहित डिजिटल सम्पर्क विच्छेद हुनेछ । सुरक्षा प्रवन्ध र ट्राफिक व्यवस्थापनमा सहज होस् भनेर सरकारले आज सार्वजनिक विदा दिएको छ । तर, तिहार मानेर देशका विभिन्न स्थानाबाट काठमाडौं फर्कने भने मारमा परेका छन् ।

विमानस्थल ४५ मिनेट बन्द
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आगमनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ४५ मिनेट बन्द गरिएको थियो । विमानस्थल प्रशासनले १२ बजेर १० मिनेटदेखि १२ बजेर ५५ मिनेटसम्मका लागि ‘नोटिस फर एयरमेन’ (नोटाम) जारी गरेको थियो । सो समयमा कुनै जहाजले उडान भर्न र अवतरण गर्न पाएनन् । विमानस्थल पुरै बन्द गरिएको थियो । भीभीआइपी जहाजमा आउनु बीस मिनेट अघिदेखि अवतरण भएको २५ मिनेटसम्म नोटाम जारी गरिएको हो । सो समयमा अवतरण गर्ने थाइ एयरवेज, सिल्क एयरवेज, ड्रुक एयर, चाइना साउदर्न र टर्किस एयरको अवतरण प्रभावित भएको थियो भने विमानस्थलबाट उड्ने कतार एयरवेज, जेट एयरवेज, मलेसिया एयरलाइन्स र एयर चाइनाले ढिला उडान भरेका थिए ।