२० बैशाख २०८१, बिहीबार
Follow Us

लण्डनमा ११ औं नेपाली मेला भव्य (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
८ भाद्र २०७६, आईतवार २१:२२

लण्डन । तमुधिं युकेको आयोजनामा ११ औं नेपाली मेला भव्य रुपमा सम्पन्न भएको छ । आइतबार लण्डनको केप्टन पार्क रेसकोर्समा आयोजित मेला भर्न वेलायतका बिभिन्न देशबाट हजारौं दर्शकहरुको ओइरो लागेको थियो ।

चर्को घर्मिको वेवास्ता गर्दै वेलायतस्थित समाजिक संघसँस्थाहरुले नेपालका विभिन्न भागका भेषभुषा तथा संस्कृति झल्काउने झाँकीहरु प्रदर्शन गर्दै नेपाली मेलामा रनौक थपेका थिए ।
गण्डक प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न मेलाको सहकार्य नेपाली दूतावास लण्डनले गरेको थियो ।

मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले राज्यका मुलधारबाट बाहिर रहेका र देशमा भएको भेदभावको अन्त्य गर्दै विभिन्न क्षेत्रमा पछाडि परेका समुदायको संरक्षण गर्न संघिय व्यवस्था उचित भएको विचार व्यक्त गरे ।

उनले संघिय व्यवस्थामा पिछडिएका नेपालीको राज्यको निती निमार्ण सम्म पहुंच पुग्ने दावी गरे । उनले गण्डकी प्रदेशको विकास पर्यटनबाट मात्र सम्भव भएको वताउदैं भारत र चीनका पर्यटक भित्राउने गरि पर्यटन प्रर्वधनको लागि कार्यक्रम संचालन गर्ने योजना सुनाए ।

गुरुङले सरकारले देश विकासको लागि विभिन्न दिर्घकालिन आयोजना घोषणा गरेका वताए । उनले अबको २५ वर्षमा सबै नेपाली साक्षर भएर गरिवीको अन्त्य हुने दावी गरे । उनले गण्डकलाई डिजिटल प्रदेशको रुपमा विकास गर्दै प्रत्येक घरघरमा धारा र गाउँगाउँमा वाइफाई सेवा दिने उद्धघोष समेत गरे ।

उनले आगामि ५ वर्ष भित्रमा गण्डक क्षेत्रमा ३ देखी ५ हजार मेघावाट विजुली उत्पादन गरि घरघरमा ग्यास चुलोको सट्टा इलेक्टिक चुलो जडान गरिने वताए ।

उनले गण्डक क्षेत्रमा आर्थिक जोनको रुपमा विस्तार गरिने योजना समेत सुनाए । उनले विदेशमा बस्ने नेपालीहरुलाई गण्डक प्रदेशमा उद्योग संचालन गर्न आव्हान समेत गरे ।
उनले सरकारले वैदेशिक लगानीको लागि आवश्य वतावरण तयार गरिसकेको वताउँदै नेपालमा लगानी भित्राउन गैरआवासीय नेपालीहरुलाई आग्रह गरे ।

कार्यक्रमलाई सम्वोधन गर्दै वेलायतका लागि नेपाली कार्यवाहक राजदुत शरदराज आरणले नेपालको विकासको लागि विदेशमा रहेका नेपालीहरुको उल्लेख भूमिका हुने भन्दै नेपालको व्यापार प्रर्वधन र लगानीको लागि आग्रह गरे। उनले नेपाल सरकारले आव्हान गरेको नेपाल भ्रमण वर्ष २०२० सफल पार्न आग्रह गरे ।

नेपाली मेलामा करिब तीन दर्जन संघसँस्थाले उनीहरुका आआफनो भेष, भुषा, रीतिरिवाज र संस्कृति झांकीहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष नन्दजगं गुरुङले नेपाली कला संस्कृति, भाषा र परम्परा संरक्षण गर्ने परिकल्पना सहित नेपाली मेलाको आयोजना गरेको वताए । उनले नेपाली मेला वेलायतस्थित सबै नेपाली समुदायको भएको वताउँदै उपस्थित सबैमा धन्यवाद ज्ञापन गरे ।

मेलामा कार्यक्रम संयोजक जुमकांजी गुरुङले स्वागत मन्तव्य दिएका थिए । प्रत्येक वर्ष आयोजना हुने नेपाली मेला सन् २००९ देखि शुरु गरिएको हो ।