२३ बैशाख २०८१, आईतवार
Follow Us

धनुषा विस्फोटमा ‘चन्द समूहको संलग्नता’

नेपालब्रिटेन संवाददाता
२८ मंसिर २०७६, शनिबार १२:२९

काठमाडौं । तीनजनाको ज्यान जानेगरी धनुषाको महेन्द्रनगरमा भएको बम विस्फोटमा नेत्रविक्रम चन्द समूहको संलग्नता देखिएको प्रहरीले जनाएको छ । चन्दा माग्दा नदिएकाले घरमा बम राखेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले जानकारी दिए ।

उनीहरुले प्रेसरकुकर बम विस्फोट गराएको अनुसन्धानमा देखिएको उनले राससलाई जानकारी दिए । ‘व्यक्तिगत कारणले बम राखेको हुनसक्छ । विप्लव समूहले दसैंका बेला चन्दाका लागि भनेर पत्र पनि पठाएको रहेछ । पैसा नदिएपछि यो घटना घटाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ’–प्रहरी नायब उपरीक्षक कार्कीले भने ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा शुक्रबार राति भएको घटनामा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको थियो । स्थानीय राजेश साहको घरको गेटमा राखिएको बम विस्फोट हुँदा राजेश र उनका २४ वर्षीय छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको थियो भने सोही विस्फोटमा परी घाइते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको उपचारका क्रममा ज्यान गएको छ ।

विस्फोटमा परी राजेशका कान्छा छोरा प्रकाश, छोरी निक्कीकुमारी र बुवा भिखारी साह तथा प्रहरीजवान रिजनाथकुमार महतो घाइते भएका छन् ।
डीएसपी कार्कीले घरको भित्री गेटमा बम राखेको र प्रहरीले बम ‘डिस्पोजल’ टोलीलाई बोलाएर ठाउँ सुरक्षित राख्दा–राख्दै विस्फोट भएको जानकारी दिए । स्थानीयको भनाइ उद्धृत गर्दै प्रहरीले झोला चलाएकाले विस्फोट भएको भनेर विभिन्न सन्चारमाध्याममा आएका समाचारको भने उनले खन्डन गर्दै प्रहरीले बम छोएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताए ।

प्रनाउ कार्कीले भने–‘घटनास्थल पुगेपछि एकपटक मलाई रिपोर्ट गरे । मैले ठाउँ सुरक्षित राख्न निर्देशन दिएँ । अर्काेपटक फोन गर्दा घटना भइसकेको खबर पाएँ ।’उनले घटनास्थलमा मानिसहरु जम्मा भइसकेकाले प्रहरीले हटाउँदै गर्दा विस्फोट भएको जिकिर गर्दै ‘प्रहरीले मानिस नहटाएको भए अझ धेरै मानवीय क्षति हुन जान्थ्यो होला’–भने ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले बमभित्र फलामका टुक्रा (किला)समेत राखेर पड्काएको पाइएको जानकारी दिए । उनले भने–‘प्रकृति हेर्दा मोबाइलबाट रिमोट कन्ट्रोल गरी विस्फोट गराइएको छ ।’ उनले विस्फोट हुनुअघि परिवारलेसमेत पोको खोलेको स्थानीयको भनाइ उद्धत गर्दै बताए । उनले पनि प्रहरीले पोको नछोएको जिकिर गरे ।

शुक्रबार राति १२:०० बजे राजेशको नवनिर्मित घरको बाहिर फलामको गेटमा केही झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ प्रहरी निरीक्षक दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले गेटमा झुन्डिएको झोला बम हो वा होइन भनी अनुसन्धान गर्नेक्रममा विस्फोट भएको जनाइएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । उक्त घटना आततायी भएको भन्दै गृहमन्त्री रामबहादुर थापाले विस्फोटमा संलग्न अपराधीलाई कारबाही गरिछाड्ने प्रतिबद्धता जनाइसकेका छन् ।

यसअघि, गत जेठ १२ गते राजधानीको सुकेधारा र घट्टेकुलोमा मानवीय क्षति हुनेगरी चन्द समूहले बम विस्फोट गराएको थियो । विस्फोटमा तीनजनाको मृत्यु भएको थियो ।

सुकेधारास्थित एक शैलुन र घट्टेकुलोस्थित एक घरको कोठामा विस्फोट भएको थियो । उक्त घटनामा बम बनाउँदै गरेका उक्त समूहका सदस्य नै मारिएका थिए । सुकेधारामा विस्फोट भएकै समयमा घट्टेकुलोमा पनि विस्फोट भएको थियो । गत फागुन १० गते राति ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअगाडि चन्द समूहले नै बम विस्फोट गराएको थियो ।

विस्फोटमा सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो भने कुमार खत्री, प्रतीक्षा खड्का र उषा मानन्धर घाइते भएका थिए । उक्त घटनामा संलग्नहरु पक्राउ परिसकेका छन् । विभिन्न स्थानमा आपराधिक गतिविधि गर्न थालेपछि फागुनको अन्तिम साता सरकारले विध्वंशकारी रहेको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि रोक लगाएको थियो । त्यसपछि प्रहरीले चन्द समूहका सयौं नेता–कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाउँदै आएको छ ।
नारायण ढुंगाना (रासस)