२५ बैशाख २०८१, मंगलवार
Follow Us

क्याट यूकेले लण्डनमा पदयात्रा गर्ने

नेपालब्रिटेन डट कम्
२ पुष २०७६, बुधबार ०८:०७

लण्डन । चितवन एड ट्रस्ट (क्याट) यूकेले नेपाल भ्रमण वर्ष २०२० को प्रबर्द्धनको लक्ष्यसहित लण्डनमा एक पदयात्रा आयोजना गर्ने भएको छ । आइतबार सम्पन्न कार्यसमितिको बैठकले आउँदो फेब्रअरी महिनामा ‘वाक फर नेपाल’ शीर्षकको कार्यक्रम गर्ने निर्णय गरेको हो ।

पदयात्रा लण्डनको मुख्य पर्यटकीय क्षेत्रहरुमध्येको एक ग्रीनवीच क्षेत्रमा आयोजना हुनेछ जहाँ बेलायती मात्र नभएर दिनहुँ हजारौं विदेशी पर्यटकको समेत ओहोरदोहोर हुने गर्छ । पदयात्राका क्रममा नेपालको पर्यटन र भ्रमण वर्षको प्रचार गर्ने खालका सामग्री, प्लेकार्ड तथा तस्विरहरु प्रदर्शन गरिनेछ ।

क्याट यूके अध्यक्ष जीवन सेनले पदयात्रा नेपाल भ्रमण वर्षको प्रचारप्रसार र सहयोगका लागि गर्न लागिएको भन्दै बेलायतको सिंगो नेपाली समुदायलाई सहभागिताका लागि आव्हान गरिने जानकारी दिए ।
नेपाल भ्रमण वर्षमा बेलायतबाट मात्रै १ लाख पर्यटक भित्र्याउने नेपाल सरकारको लक्ष्यमा सघाउन क्याट यूकेले यो कार्यक्रम गर्न लागेको अध्यक्ष सेनले बताए ।

क्याट यूकेको कार्यसमिति बैठकले आउँदो वर्षका लागि अन्य विभिन्न महत्वाकांक्षी कार्ययोजनाहरु पनि तय गरेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको क्रिकेट रंगशाला, चितवनमा बनिरहेको अपांगमैत्री पुस्तकालय, मानवसेवा आश्रम र १ करोड रुपियाको लक्ष्यमा स्थापित संस्थाको अक्षय कोषका लागि छुट्टाछुट्टै सहयोग तथा च्यारिटी कार्यक्रम गर्ने योजना बनाइएको छ ।
सोहि अवसरमा क्याट यूकेका नवमनोनित सल्लाहकार तथा एनआरएन यूकेका विभिन्न पदमा निर्वाचित संस्थाका सदस्यहरुलाई सम्मान पनि गरिएको थियो । सल्लाहकारहरुलाई स्वागत गर्दै संस्थाका संस्थापक तथा पूर्व अध्यक्षहरुबाट प्रमाणपत्र वितरण गरिएको थियो ।

एनआरएन यूकेमा निर्वाचित हुने आजीवन सदस्यमध्ये अध्यक्ष पुनम गुरुङ अनुपस्थित थिइन् भने उपाध्यक्ष सुनिलबाबु खड्का र इंग्ल्याण्ड परिषद कोषाध्यक्ष ध्रुवहरि बाँस्कोटालाई अध्यक्ष सेनले सम्मान गरेका थिए ।