२५ बैशाख २०८१, मंगलवार
Follow Us

महिला नौमती बाजा समूहले चलायो सामाजिक परिवर्तन अभियान

नेपालब्रिटेन संवाददाता
२ पुष २०७६, बुधबार १२:५७

काठमाडौं । महिलाहरुको एउटा समूहले नौमती बाजामार्फत् समाजमा महिला सशक्तिकरण र सचेतनाको अभियानलाई गति दिएका छन् ।
उनीहरुले परम्परागत पञ्चेबाजा संरक्षण र संबद्र्धन गर्दै सामाजिक परिवर्तनको अभियान चलाएका हुन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महिला नौमती बाजा समूहले महिलालाई बाद्य बाधनमा सक्रिय बनाएर सामाजिक परिवर्तनको अभियान चलाएको जानकारी गराएको छ । समूहकी अध्यक्ष जानुका पौडेलले यो समूहका महिलाले देशमा पहिलोपटक पञ्चेबाजा बजाएर इतिहास रचेको बताइन् । विभिन्न चुनौतीहरु पार गर्दै महिलालाई ऐतिहासिक संस्कृतिको संरक्षणमा सरिक बनाएर सशक्तिकरणको अभियानमा जागरुक बनाएको उनको भनाइ थियो ।

उनले भनिन्, ‘हामीले ऐतिहासिक संस्कृतिको संरक्षणमा महिलालाई सरिक गराएर समाजमा नयाँ सन्देश फैलाएका छौं ।’पौडेलले पाँच ‘स’ को अभियान अनुसार ऐतिहासिक संस्कृतिको संरक्षण संवद्र्धन, सामाजिक सम्मान, आत्मबल र आत्मसम्मान अभिवृद्धि, समृद्धिको अभियानमा महिलाको सक्रिय सहभागिता, सामाजिक विकृति विसंगतिको चिरफार गर्दै सुसंस्कृति निर्माणका लागि सन्देश प्रवाह गरिरहेको बताइन् ।

२०६९ सालमा आठमार्च सशक्तिकरण मञ्चमार्फत् स्थापना भई २०७० सालबाट महिलालाई नौमती बाजा तालिम दिन शुरु गरिएको पौडेलको भनाइ थियो । त्यस क्रममा पहिलो टोली बिघटन भएको, दोस्रो टोली पलायन, तेस्रो टोलीले विद्रोह गरेको र अहिले दुईवटा टोली सक्रियताका साथ संस्था अन्र्तगत सक्रिय भएको जानकारी दिइन् ।

तालिम दिने क्रम जारी रहेको पौडेलले बताइन् । उनले भनिन्, ‘सबै किसिमका आरोह र अवरोह पार गर्दै नौमती बाजा समूह निरन्तर सक्रिय छ ।’ त्यस्तै तालिम दिने क्रममा एक व्यक्ति बराबर ८० हजार खर्च भएको जानकारी गराउँदै विद्रोह गर्ने कृष्ण क्षेत्रीलगायतको समूहले ऋणमा पारेर गएको पौडेलले बताइन् ।

महिला नौमती बाजा समूहको इतिहासलाई छोपेर व्यक्तिगत लाभमा केही व्यक्तिहरु सक्रिय भएकाले सचेत रहन आग्रह गरिन् । महिलाहरु नौमती बजाएर उत्पादनशील कार्यमा लागेबाट समाजमा सही सन्देश गइरहेको पौडेलले बताइन् । बजाउने महिलामा आत्मबल बढिरहेको र बजाएको देख्नेहरुमा पनि महिलाले झनै गर्न सक्दारहेछन् भन्ने सन्देश प्रवाह भएको उनको भनाइ थियो ।

समाजमा सही सन्देश जाँदा आफूहरु उत्साहित भएको बताइन् । प्रशिक्षणका लागि आर्थिक खर्च, तालिमका लागि सही स्थानको अभाव र तालिम लिदा र लिइसकेपछि प्रशिक्षण लिनेहरुलाई टिकाउनै कठिन हुनेगरेको अनुभव सुनाइन् ।

विद्रोह गर्ने र धोका दिनेहरुका कारण केही समस्या भएपनि चुनौतिसँग लडेर अगाडि बढ्ने बताइन् । सबै किसिमको चुनौतिका बाबजुद महिला नौमति बाजा समूह निरन्तर सक्रिय भइरहेको उनको भनाइ छ ।

विवाह, ब्रतबन्ध, विदेशी पाहुनाहरुको स्वागत र बिदाई, राष्ट्रिय अन्तर्राष्ट्रिय सभा समारोहदेखि विशेष कार्यक्रममा आफूहरुले नौमती बाजाको प्रस्तुती गर्ने गरेको जानकारी दिइन् । कार्यक्रममा महिला नौमती बाजा समूहले वाद्य वाधन र गायन कला समेत प्रदर्शन गरेको थियो ।