लण्डन । फेल्थामस्थित एभरेष्ट स्पाइस लाउञ्ज उत्कृष्ट नेपाली–भारतीय परिकार र आधुनिक वातावरणको खोजी गर्नेहरूका लागि नयाँ आकर्षक गन्तव्यका रूपमा सञ्चालनमा आएको छ।
रेस्टुरेन्टका सञ्चालकमध्येका एक गणेश भण्डारीका अनुसार एभरेष्ट स्पाइस लाउञ्जले आज (बिहीबार) १८ सेप्टेम्बरदेखि औपचारिक रूपमा व्यवसाय सुरुआत गरेको हो।
समकालीन शैलीमा प्रस्तुत यो बार तथा रेस्टुरेन्टले नेपाली र भारतीय खानाको प्रामाणिक स्वाद उपलब्ध गराउने लक्ष्य राखेको छ। दशैंलाई ध्यानमा राखी बाख्राको विशेष परिकारसहित सेकुवा, झोल मःम, चटपटे लगायतका लोकप्रिय आइटमहरू पस्किने तयारी भएको बताइएको छ।
“हाम्रो उद्देश्य केवल खानपान मात्र नभई समुदायलाई जोड्ने साझा केन्द्रका रूपमा यसलाई विकास गर्ने हो। विवाह, ब्रतबन्ध, सामाजिक भेटघाटदेखि पार्टी स्थलका रूपमा पनि एभरेष्ट स्पाइस लाउञ्ज उत्कृष्ट विकल्प बन्नेछ,” भण्डारीले बताए।
फेल्थाम ट्रेन स्टेशनबाट करिब पाँच मिनेटको पैदल दूरीमा रहेको यो रेस्टुरेन्ट पुरानो पबलाई नेपाली लगानीकर्ताहरूले खरिद गरी आधुनिक ढाँचामा पुनर्निर्माण गरेर सुरु गरिएको हो।
युवा व्यवसायीहरू मिन प्रसाद खरेल, गणेश भण्डारी र दीपक खरेलको संयुक्त लगानीमा सुरु भएको रेस्टुरेन्टलाई तीन दशकभन्दा बढी अनुभवसहितका वरिष्ठ सेफ मिन प्रसाद खरेलले नेतृत्व गरेका छन्। उनले मःम, ल्याम सेकुवा, चटपटे, चिल्ली चिकेन, पनिर टिक्का, बर्गर र र्यापजस्ता परिकारलाई आफ्नै विशेष शैलीमा प्रस्तुत गर्नेछन्।
सञ्चालकहरूले एभरेष्ट स्पाइस लाउञ्जलाई फेल्थाम समुदायका लागि नयाँ स्वाद, न्यानो आतिथ्य र सामाजिक जमघटको उत्कृष्ट केन्द्र बनाउने विश्वास व्यक्त गरेका छन्। रेस्टुरेन्टले हप्ताभर विहान ११ बजेबाट अबेर रातिसम्म सेवा दिनेछ।