२५ बैशाख २०८१, मंगलवार
Follow Us

वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन एनआरएनको माग

नेपालब्रिटेन डट कम्
२ पुष २०७६, बुधबार १५:३७

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) र श्रममन्त्री बीच छलफल भएको छ । संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार विभागका सभापति डा. बद्री केसी लगायतका पदाधिकारीहरुले नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवसंग भेटघाट भएको हो ।

सो भेटघाटमा डा. केसीले गैरआवासीय नेपाली संघले स्थापनाकाल देखी नै वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित र व्यवस्थित गर्न नेपाल सरकारलाई विभिन्न चरणहरुमा सल्लाह र सुझाव दिएका थिए । उनले वैदेशिक रोजगारका क्षेत्रसंग सम्बन्धित संघका प्रमुख उद्देश्यहरु, संघद्वारा नेपाल सरकारसंग गरिएका पहलहरु, संघको राहत कोष, हाल सम्म संघले हासिल गरेका उपलब्धीहरु र भविष्यमा नेपाल सरकारले गर्नु पर्ने कार्यहरु बारे अवगत गराएका थिए ।

उपाध्यक्ष डा. केसीले संघको सुझावहरु अनुसार वैदेशिक रोजगारका कतिपय विषयहरुमा नेपाल सरकारको नीति र प्रक्रियाहरुमा सुधार भएकोमा आभार समेत प्रकट गरे । भेटमा संघ र नेपाल सरकार बीच संयुक्त कार्यदल गठन गरेर अघि बढ्ने सम्वन्धमा समेत छलफल भएको थियो ।

मन्त्री यादवले वैदेशिक रोजगारका क्षेत्रमा संचालन गरेका गतिविधिहरुको प्रशंसा गर्दै भविष्यमा यस क्षेत्रलाई अझ बढी व्यवस्थित तथा मर्यादित गर्नको लागि नेपाल सरकार सबै सरोकारवालाहरुसंग सहकार्य र समन्वय गर्न तयार रहेको बताए । संघले राखेका सुझावहरु आफूले अध्ययन गर्ने बताउँदै हाल देखा परेका समस्याहरुलाई समाधान गर्नको लागि पहल गरिने प्रतिबद्धता मन्त्री यादवको थियो

भेटघाटकार्यक्रममा संघका उपाध्यक्षहरु डा. बद्री केसी, अर्जुन श्रेष्ठ र सोनाम लामा, सल्लाहकार रामेश्वर शाह, एशिया प्रशान्तका क्षेत्रीय उपसंयोजक खगेन्द्र न्यौपाने, आइसिसि सदस्य विश्वविक्रम राई, ओसेनिया क्षेत्रका पूर्व क्षेत्रीय संयोजक धर्मराज अधिकारी, पूर्व युवा उपसंयोजक लोकराज शर्मा, एनआरएन एकेडेमीका संयोजक डा. प्रमोद ढकाल लगायतको सहभागीता रहेको थियो ।