२० बैशाख २०८१, बिहीबार
Follow Us

माटोको ढिस्को खस्दा ६ जना पुरिए

नेपालब्रिटेन संवाददाता
९ पुष २०७६, बुधबार १६:२३

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकाको सुन्दरबजारमा रिटेनिङ वालको काम गर्ने सिलसिलामा माटोको ढिस्को खस्दा ६ जना पुरिएका छन् । सुन्दरबजार नगरपालिकामा–६ स्थित नमुना टोलमा स्थानीय बामदेब गौलीको घर निर्माणका क्रममा रिटेनिङ वालको काम गर्दैगर्दा माटोको ढिस्कोले ६ जनालाई पुरेको हो । तीमध्ये एकको निधन भएको छ भने पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ढिस्को खसेर पुरेको थाहा पाएपछि प्रहरीले उद्धार गरेको थियो । उद्धार कार्यमा प्रहरीलाई स्थानीयले सहयोग गरेका थिए । उद्धार गरिएको ६ जनामध्ये एकको निधन भएको र एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बसन्तबहादुर रानामगरले बताए । उनका अनुसार मृतकमा चितवन जिल्ला राप्ती नगरपालिकामा घर भएका अन्दाजी वर्ष २५ को संगम चेपाङ रहेका छन् ।

गम्भीर घाइते भएका चितवनकै राप्ती नगरपालिकाका वर्ष ५२ को बलबहादुर तामाङलाई थप उपचारका लागि चितवन पठाईएको छ । अन्य घाइतेहरूको सुन्दरबजारमै रहेको कर्मदा अस्पतालमा उपचार भइरहेको छ । उपचारमा रहनेमा चितवन कै राप्ती नगरपालिका घर भएका वर्ष १८ को विष्णु चेपाङ र सोही नगरपाकिलाको वर्ष ४०को दिपक श्रेष्ठ भएको प्रहरी प्रवक्ता रानामगरले बताए । उनका अनुसार उपचररत अर्का घाइतेमा चितवनकै भरतपुर उपमहानगरपालिका घर भउका वर्ष ३५ का सुरेश चेपाङ र सल्यान जिल्लाका वर्ष ६० का छविलाल राना हुन् ।

सो समयमा उक्त स्थानमा १८ जना कामदारले काम गरिरहेको बेला एक्कासि माटोको ढिस्कोले पुरेको थियो ।