३ आश्विन २०८२, शुक्रबार
Follow Us

युक्रेनमा अलपत्र परेका दुई नेपालीको सफल उद्दार

नेपालब्रिटेन संवाददाता
३ आश्विन २०८२, शुक्रबार १९:०३

वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै युक्रेन पुगेका दुई जना नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को पहल र जर्मनी स्थित नेपाली दुतावासको समन्वय तथा आवश्यक सहजीकरणमा विगत १४ महिनादेखि युक्रेनस्थित सैन्य क्याम्पमा रहेका रौतहटका २८ वर्षीय जयप्रकाश शाह र बाग्लुङका २३ वर्षीय सन्देश केसीलाई उद्धार गरिएको हो ।
केही समयअघि उनीहरूले एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतलाई सम्पर्क गरी उद्धारको लागि पहल गर्न आग्रह गरेपछि संघले आवश्यक सहजीकरणका लागि दूतावाससँग समन्वय गर्दै आएको थियो ।

सन् २०२४ को जुलाइमा उनीहरू त्यहाँ पुगेका उनीहरु विगत १४ महिनादेखि किएभको इमिग्रेसन क्याम्पमा रहँदै आएका थिए । युक्रेनबाट मल्दोवा र भारतको नयाँ दिल्ली हुँदै आज दिउँसो १ बजे उनीहरु दुवैजना काठमाण्डौ आईपुगेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा उनीहरुलाई स्वागत गर्न संघको सचिवालयबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत र कनिष्ठ अधिकृत निरोज महर्जन उपस्थित हुनुभएको थियो । उनीहरु दुवै जनाले दुःखको बेलामा गैर आवासीय नेपाली संघ र जर्मन स्थित नेपाली दुतावासले पुर्याएको समन्वय, सहयोग र सहजीकरणका लागि धन्यवाद दिएका छन् ।

धेरै पढिएको