२८ बैशाख २०८१, शुक्रबार
Follow Us

विश्वबजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि

नेपालब्रिटेन संवाददाता
१९ पुष २०७६, शनिबार ०७:५८

लन्डन । अमेरिकी सेनाले इराकको बग्दादमा गरेको हवाई आक्रमणमा इरानी सेनाको विशेष दस्ताका प्रमुख मेजर जर्नेल कासिम सोलेमानी मारिएपछि विश्वबजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ । कच्चा तेलको मुल्यमा एकै दिन तीन प्रतिशत वृद्धि भएको छ ।

गत सेप्टेम्बर पछि सबैभन्दा बढी अर्थात एक ब्यारेलको मुल्य ६९ दशमलव ५० डलर पुगेको छ । अमेरिकी तेल कम्पनीको शेयरको मूल्यमा पनि गिरावट आएको छ । सोलेमानीको मृत्युपछि खाडी क्षेत्रमा तनाव बढेको र त्यसको प्रभाव इन्धन उत्पादनमा समेत पर्ने आंशका गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘युद्ध रोक्न’का निम्ति सोलेमानीको हत्या गरिएको दाबी गरेका छन् । सोलेमानीको मृत्युले उनको आतङ्कपूर्ण शासनकाल सिद्धिएको ट्रम्पको भनाइ छ । तनाब बढेपछि अमेरिकाले मध्यपूर्वमा सावधानीका लागि ३ हजार थप सैनिक पठाउने भएको छ ।

सोलेमानी मारिएको केही घण्टापछि नै बग्दादमा अर्को हवाई आक्रमण ६ जनाको मृत्यु भएको छ । इरान समर्थित शिया मिलिसियालाई लक्षित गर्दै क्याम्प ताजी नजिकै आक्रमण भएको हो । इरानले आक्रमणको अमेरिकासँग उचित बदला लिइ छाड्ने चेतावनी दिएको छ ।