२१ बैशाख २०८१, शुक्रबार
Follow Us

माल्टामा राजदूत डा. सुवेदीले गरे नेपाल भ्रमण वर्षको भव्य शुभारम्भ (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२ माघ २०७६, बिहीबार १४:२८

लन्डन । नेपाल सरकारले आयोजना गरेको भिजिट नेपाल २०२० माल्टामा भव्यरुपमा सम्पन्न भएको छ । भिजिट नेपाल २०२० सफल पार्न नेपाली दूतावास लन्डनले आयोजना गरेको कार्यक्रममा गैरआवासीय नेपाली संघले माल्टामा रहेको नेपाली संघसंस्थासँग मिलेर कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ ।गैरआवासीय नेपाली संघ माल्टा, नेपाल टुरिजम बोर्ड र दुताबासको समन्वयमा विधिवतरुपमा उद्घाटन भएको हो ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत तथा माल्टाका लागि गैरआवासीय राजदूत महामहिम डा. दुर्गाबहादुर सुवेदीले आफूले काम गरेको संस्थामा काम गर्ने एकजना साथीलाई नेपाल पठाउन अनुरोध गरे । भेटघाटका क्रममा राजदूत डा. सुवेदीले सम्पूर्ण माल्टिज जनतासँग नेपाल भ्रमण गर्न अनुरोध गरे ।नेपालले भ्रमण वर्ष मनाउँदै गर्दा माल्टा पर्यटकको संख्यामा बढ्ने राजदुत डा. सुवेदी को विश्वास छ।

माल्टाको ट्रन्सपोर्टसँग समन्वय गरी नेपालको पर्यटन झल्किने गरी पोस्टर टाँसेर र्‍याली सहित कार्यक्रम आयोजना गरिएको थियो । माल्टाका मेयर Margaret Baldacchino Cefai को उपस्थितमा भिजिट नेपाल २०२० को कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा स्थानिय मेयर, माल्टाका काउन्सिलर र नेपाली संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रम समन्वयका तर्फबाट गैरआवासीय नेपाली संघ केन्द्रिय सल्लाहकार तथा एनआरएनए आइसीसी भिजिट नेपाल २०२० विशेष टाक्सफोर्सका अन्तर्राष्ट्रिय मोडरेटर सोम सापकोटा,नेपाली दुताबास लन्डन,नेपाल टुरिजम बोर्ड र नेपाल सरकारको संयुक्त पहलमा कार्यक्रम सम्पन्न भएको हो ।

नेपालको पर्यटन विकासका लागि नयाँ डेस्टिनेशन माल्टामा आयोजना भएको यो कार्यक्रमले नेपालको टुरिजम क्षेत्रमा महत्वपूर्ण प्रभाव पर्ने सापकोटाले बताए । विशेषतः माल्टाबाट सगरमाथा चढ्ने तारमोनाले सगरमाथा चढ्दाको अनुभव सुनाए भने मेयरले सबैलाई नेपाल जान अनुरोध गर्ने र नेपाल घुम्न उपयुक्त डेस्टिनेशन भएको बताएका थिए । नेपालको तर्फबाट टोकन अफ लभले सम्मान गरियो ।नेपाली राजदूतावासले माल्टालगायत विभिन्न देशका कूटनीतिक नियोगका प्रमुखसँग भेटघाट गरेका थिए ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का राजु अर्यालले यो कार्यक्रम समन्वय गर्न पाएकोमा खुशी व्यक्त गर्दै सम्पूर्णलाई धन्यवाद दिए । कार्यक्रम संघका महासचिव सन्देश केसीले सञ्चालन गरेका थिए । द्वितीय सचिव लव सुवेदीले नेपाली दूतावास लण्डनको तर्फ बाट भिजिट नेपाल २०२०को लोगो अंकित टोपी वितरण समेत गरेका थिए।

माल्टाको एक स्थानीय ट्रान्सपोर्टको समन्वयमा ‘भिजिट नेपाल २०२०’ प्रचार प्रसार तथा प्रबर्धन हुने गरि यातायातहरुमा पोस्टर टास्ने कार्य सम्पन्न भएको छ ।

विश्वकै अग्लो शिखर सगरमाथाको तस्बिर र बुद्ध भूमिको प्रतिक बौधको तस्बिर संगै विभिन्न नेपाली सांस्कृतिक पहिरन झल्किने ठुला पोष्टरहरु गाडीमा टाँसेर प्रसारप्रसारलाई ब्यापक बनाइएको एनआरएनए आइसिसि भिजिट नेपाल २०२० स्पेशियल टाक्सफोर्सका अन्तर्राष्ट्रिय मोडरेटर सोम सापकोटाले बताए । यस्तो कार्यक्रमले भिजिट नेपाल २०२० को लागि निकै राम्रो टेवा पुग्ने बिश्वास समेत सापकोटाले व्यक्त गरे ।

आफ्नो देहाय बमोजिमको कार्यक्रम माल्टामा गैरआवासीय नेपाली संघ र त्यहाँ रहेको स्थानीय सरकारसँग मिलेर कार्यक्रम भब्य रुपले सम्पन्न गरेको छ ।