८ जेष्ठ २०८१, मंगलवार
Follow Us

लण्डनमा आयोजना हुने किराँत राई यायोक्खाको सम्मेलनमा डा. पवन चाम्लिङ प्रमुख अतिथि हुने

नेपालब्रिटेन डट कम्
२५ माघ २०७६, शनिबार २०:५३


राष्ट्रिय कलाकार आउने

खुशी लिम्बु । लण्डन । किराँत राईहरुको साझा संस्था किराँत राई यायोक्खा (किराया) को तेश्रो अन्तरराष्ट्रिय सम्मेलन बेलायतमा हुने भएको छ ।

पश्चिम लण्डनको ह्यारोमा एक पत्रकार सम्मेलन गर्दै किरायाको बेलायत शाखाले उक्त सम्मेलन आगामी मे महिनाको २४, २५ र २६ तारिख साउथ ह्यारोको फूटबल क्लब हलमा गर्ने जनाएको हो ।

सम्मेलनमा उत्तरपूर्वी भारतीय राज्य सुक्खिमका पूर्व मूख्यमन्त्री तथा वर्तमान विधायक डा. पवन चाम्लिङ प्रमुख अतिथि रहने छन् ।

सम्मेलनमा किराँत राई समुदायका कलाकारहरु दयाहाङ राई, एलिसा राई, विल्सनबिक्रम राई (तक्मे बुढा) र उमेश राई (फुलन्देको आमा) पनि सम्मेलनको अन्य आकर्षण रहने कार्यक्रम संयोजक नरेश काङमाङ राईले बताए ।

सम्मेलनमा बेलायतस्थित नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदी, बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय काउन्सिलरहरु, अन्य जनप्रतिनिधिहरु, ब्यापारी, समाजसेवी र सर्वसाधारणहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।

सम्मेलन अघि, मे २३ मा सदा झैं अतिथिहरुको साथमा वोकिङको किराँतभूमि क्याम्बरवेलमा ५०८०औं साकेला मनाउने, मे २४ मा साउथ ह्यारोमा तेस्रो अन्तरर्राष्ट्रिय सम्मेलन उदघाटन गर्ने, मे २५ मा वन्दसत्र हुने र मे २६ मा बेलायत घोषणापत्रका साथ सम्मेलन समापन गर्ने कार्यक्रम छ ।

अन्तरराष्ट्रिय सम्मेलनमा किरायाका केन्द्रीय अध्यक्ष दिवस राई लगायत नेपाल, भारत, अस्ट्रेलिया, हङकङ, कतार, मलेशिया, जापान, कोरिया लगायतका एक दर्जनभन्दा बढी देशहरुदेखि किराँत राईहरु सहभागी हुनेछन् ।

भौगोलिक र पेशागत रुपमा भूमण्डलिकृत राईहरुलाई आफ्नो मुल थातथलोसंगको सम्बन्ध स्थापित गरिराख्न यस सम्मेलनले महत्वपूर्ण हुने किराया यूकेकी अध्यक्ष श्रीमती कल्पना राईले जनाइन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष श्रीमती राईले बेलायतवासी किराँती र गैर–किराँतीहरु सबैबाट आर्थिक, नैतिक भौतिक लगायत सबै प्रकारका सहयोगहरु अपेक्षा राखिन् ।

त्यस्तै किराया यूकेका उपाध्यक्ष मेजर (रि) योगेश राईले साकेला (उभौंली) चाडको महत्वमाथि प्रकाश पार्दै यस पटकको साकेला र तेश्रो अन्तरर्राष्ट्रिय सम्मेलनमा आर्थिक भौतिक सहयोगका लागि बिज्ञापन र स्टलहरुको संख्यामा बढोत्तरी गर्ने जानकारी दिए ।

पत्रकार सम्मेलनमा किराया यूकेका सल्लाहकार तथा पूर्व उपाध्यक्ष दिवाकर राई, किराया नेपालका संस्थापक सदस्य मेजर (रि) मानबहादुर राई, किराया नेपालका पूर्व अध्यक्ष डा. सुमाया राई र पूर्व उपाध्यक्ष ज्ञानबहादुर राई लगायत कार्यसमितिका सदस्यहरु र किराया यूके शाखाका प्रतिनिधिहरु उपस्थित थिए ।

नेपाल सहित विश्वका १७ देशहरुमा रहेको किरायाले यसअघि प्रथम अन्तरराष्ट्रिय सम्मेलन सन् २०११ मा नेपालमा र सन् २०१५ मा दोस्रो सम्मेलन भारतको सिलिगुढीमा भएको थियो ।