२७ बैशाख २०८१, बिहीबार
Follow Us

कोरोना भाइरसबाट सतर्कता अपनाउन काँग्रेसको अपील

नेपालब्रिटेन संवाददाता
१९ फाल्गुन २०७६, सोमबार १३:३९

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) नेपालमा प्रवेश र विस्तार हुन नदिन सतर्कता अपनाउन अपिल गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपालले सम्पूर्ण सतर्कता राख्नुपर्ने टड्कारो अनिवार्यता रहेको उल्लेख गर्नुभयो ।

“प्राणघातक भाइरस कोरोनाले विश्वव्यापी रुपमै महामारीको डँका बजाइरहेका बेला मुलुकले सतर्कताको पर्याप्त पूर्वतयारी गर्न सकेन र जोखिमसँग जुध्न चुस्त बन्दोबस्त गरिएन भने त्यसले ठूलो मानवीय क्षति निम्त्याउने खतरा छ”, उहाँले भन्नुभयो, “यस्तो गम्भीर विश्व परिस्थितिका बेला सम्पूर्ण सतर्कताका लागि काँग्रेस नेपाल सरकार र सम्बन्धित निकायहरू एवं सबै राजनैतिक दल, संघसंस्था र समस्त नेपालीमा अपिल गर्दछ ।”

काँग्रेसले विश्व स्वास्थ सङ्गठन (डब्लूएचओ) ले उच्च जोखिममा रहेकोे राष्ट्र भनेर नेपाललाई घोषित गरिसकेको स्थितिमा जोखिम सामना गर्न गम्भीर राष्ट्रिय पहलकदमी गर्न सरकारसँग आग्रह गरेको छ । कोरोना संक्रमित मुलुकको सूची जारी गरेर ती देशमा नेपालीको भ्रमणमा अस्थायी रुपले तत्काल रोक लगाउन र संक्रमण फैलिएका मुलुकहरुसँग नेपालीको उद्धार गर्नुपर्ने स्थितिमा बाहेक दोहोरो उडानमा तत्काल रोक लगाउन काँग्रेसले आग्रह गरेको छ ।

आज मध्याह्नसम्मको स्थलगत अध्ययनमा अन्तरराष्ट्रि«य विमानस्थलको जाँचको प्रक्रिया काम चलाउ प्रकृतिको फितलो देखिएको भन्दै प्रवक्ता शर्माले प्रवेशद्वारमा कठोर ढङ्गको कडाइ गरिएन भने र भाषणका मञ्चबाट सतर्कताको अपिल मात्रै जारी गर्दा स्थिति भयावह हुन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । स्थलमार्गबाट नेपाल प्रवेश गर्ने नाकामा केरुङको नाकामा कडाइ गरिएको भए पनि अन्य नाका खासगरी तराई–मधेसका सबै सीमा नाकाबाट सोमबार मध्याह्नसम्म निर्वाध प्रवेश जारी रहेको उहाँले बताउनुभयो ।

साथै ती नाकाहरुमा पनि तत्काल कडाइ शुरु गर्न विशेष स्वास्थ्य जाँच केन्द्र स्थापना गर्न उहाँले माग गर्नुभयो । केन्द्र, प्रदेश र स्थानीय तहका सरकार र राज्यका विभिन्न निकायबीच आवश्यक समन्वय अभिवृद्धि गरेर सम्भावित जोखिम सामना गर्ने कार्ययोजना चुस्त ढङ्गले अघि बढाउन प्रवक्ता शर्माले सुझाव दिनुभयो । संक्रमण भए नभएको ठहर गर्ने ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला’ मा परीक्षण ‘कीट’ को कमी हुनसक्ने र परीक्षणका लागि दक्ष जनशक्तिको अभाव हुनसक्ने खतरालाई समयमै ध्यान पु¥याइ आवश्यक बन्दोबस्त यथाशीघ्र मिलाउन उहाँले आग्रह गर्नुभयो ।

“संक्रमण भित्रिएको र फैलिएको खण्डमा स्वास्थ्यकर्मीले जोखिमपूर्ण ढङ्गले उपचार र उद्धारमा समर्पित हुनुपर्ने स्थिति आउनसक्छ, त्यस्तो जोखिम हुन नदिन एकातर्फ विशेष प्रकृतिको एप्रोन र उपकरणको अभाव हुन नदिन पर्याप्त बन्दोबस्ती गरियोस् र स्वास्थ्यकर्मीलाई विशेष ढङ्गको प्रोत्साहन र प्रशिक्षणको थालनी गरियोस्”, उहाँले भन्नुभयो ।