२९ बैशाख २०८१, शनिबार
Follow Us

पर्यटक नभएपछि होटलका कर्मचारीलाई बिदा दिन थालियो

नेपालब्रिटेन संवाददाता
२२ फाल्गुन २०७६, बिहीबार ११:०३

काठमाडौँ । चीनबाट फैलिएको कोरोना भाइरसले विश्वसँगै नेपालको अर्थ व्यवस्थामा पनि असर पारेको छ । नेपालको होटल व्यवसायमा पनि कोरोना भाइरसका कारण गम्भीर असर परेको छ । पर्यटकको आगमन घटेको र अग्रीम बुकिङ रद्द हुने क्रम समेत बढ्दै गएको छ ।

पर्यटक आगमनमा गिरावट आएपछि होटल व्यवसायीले कामदारलाई आधा तलब पाउने गरी विदामा बस्न भनेका छन् । कोरोना भाइरस नियन्त्रणमा आएर पर्यटक आउन थालेपछि पुन: काममा फर्किने गरी विदा बस्न भनिएको हो । होटलमा पर्यटक नभएपछि कर्मचारीको काम नहुने भएकाले राजधानी लगायत मोफसलका होटल व्यवसायीहरुले ५० प्रतिशतसम्म कर्मचारीलाई बिदा दिइसकेका छन् ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार गत वर्ष यतिबेला ९० प्रतिशत हाराहारी होटलका कोठा बुकिङ हुने गर्दथे । नेपाली कार्यक्रम भइरहेकाले आजसम्म २० प्रतिशत हाराहारी कोठा भरिएको भए पनि दुई दिनपछि यो संख्या निकै न्यून हुने उनको भनाइ थियो । अहिले केही मात्रामा युरोपियन, भारतीय र नेपाली पर्यटक मात्र छन् । यसअघि भएका सबै बुकिङ रद्द भएका छन् ।

कोरोनाको प्रभाव होटलमा देखिएपछि यसले अन्य क्षेत्रमा पनि नराम्रो असर पुर्‍याएको सरोकारवाला पक्षको भनाइ छ । पर्यटकबाट आश्रित साना ठूला होटल, रेष्टुराँ, पसल, डुङ्गा, हात्ती, जीप, पर्यटक बस जस्ता पर्यटन व्यवसाय प्रभावित भएका छन् । जसबाट सरकारको राजश्वमा पनि प्रभाव देखिने भएको छ ।