९ असार २०८१, शनिबार
Follow Us

विद्युत् प्राधिकरण बन्यो सबैभन्दा बढी नाफा कमाउने संस्था

नेपालब्रिटेन संवाददाता
२२ चैत्र २०७६, शनिबार ०५:३५

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरुमध्ये प्राधिकरण सबैभन्दा बढी खुद नाफा कमाउने संस्था बनेको छ । महालेखा परीक्षकको कार्यालयबाट भएको अन्तिम लेखापरीक्षणबाट प्राधिकरणले आर्थिक वर्ष २०७५/७६ मा ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको देखिएको छ ।

यो प्राधिकरण आफैले प्रक्षेपण गरेको भन्दा बढी नाफा हो । प्राधिकरणले आर्थिक वर्ष २०७५/७६ मा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपण गरेको थियो । प्राधिकरणको जगेडा तथा सञ्चित कोष नोक्सानी घटेर १२ अर्ब २३ करोड ३९ लाखमा झरेको छ ।

आर्थिक वर्ष २०७४/७५मा प्राधिकरणको खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख र जगेडा तथा सञ्चितकोष २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ ऋणात्मक थियो । विद्युत चुहावट नियन्त्रण, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकहरुसँगको विद्युतको औसत खरिद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रणका कारण प्राधिकरण नाफामा जानुको मूल कारण प्रातिकरण व्यवस्थापनको भनाइ छ ।

त्यस्तै लोडसेडिङ अन्त्यपछि ऊर्जा खपतमा बृद्धि, प्राधिकरणका जलविद्युत आयोजनाहरुको उत्पादनमा बृद्धि, वित्तीय पुनर्संरचनाको प्रभावकारी कार्यान्वयन लगायतबाट संस्था तीन वर्षदेखि निरन्तर खुद नाफामा जान सफल भएको प्राधिकरणको भनाइ छ ।