८ जेष्ठ २०८१, मंगलवार
Follow Us

पैदल घर हिँडेकाहरुको समस्या समाधान गर्न राजपाको माग

नेपालब्रिटेन संवाददाता
३ बैशाख २०७७, बुधबार १५:३२

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल राजपाले व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरी सीमा नाकामा थप कडाइ गर्न माग गरेको छ। उपत्यका लगायतका स्थानमा फसेका नागरिकहरुको राहतका विषयमा सरकारले गरेका निर्णयहरु प्रभावकारी बन्न नसकेको राजपाले बताएको छ।

राजपा अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले बुधवार एक विज्ञप्ति जारी गर्दै सीमा क्षेत्रको आवतजावतमा थप कडाइ गर्नुपर्ने माग गरेका हुन्। त्यस्तै उनले काठमाडौंबाट पैदल हिडेर आफ्नो जिल्ला गइरहेका जनताका पक्षमा गम्भीर बन्दै समस्या समाधान गर्न पनि सुझाव दिएका छन्।

‘लकडाउनमा दिनहुँ काठमाडौंबाट पैदल यात्रा गरी हजारौंको संख्यामा सर्वसाधारण नागरिक आ(आफ्नो जिल्लातर्फ गइरहेका छन्। जसले एकातिर विभिन्न ठाउँमा झडपको स्थिति सृजना भएको छ भने अर्कोतिर स्थानीय ठाउँहरुमा त्रासको पनि अवस्था छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसकारण लकडाउनलाई सफल बनाउन यस विषयमा सरकार गम्भीर भई यसको उचित समाधान खोज्नुपर्छ।’ संयोजक भण्डारीले लकडाउनको समयसीमा बढाउने निर्णय स्वागत योग्य रहेको भन्दै सबैलाई यसका पूर्ण रुपमा पालना गर्न पनि आग्रह गरेका छन्।