२१ बैशाख २०८१, शुक्रबार
Follow Us

सांसद अपहरण प्रकरणको सरकार र पार्टी दुवैले छानविन गर्नुपर्छ:भीम रावल

sarusaru
१२ बैशाख २०७७, शुक्रबार ०९:४३

नेकपा स्थायी समिति सदस्य भीम रावलले सांसद अपहरण प्रकरणलाई राज्य र पार्टी दुवैले छानविन गर्नुपर्ने माग गरेका छन्।

सेतोपाटीसँग कुराकानी गर्दै स्थायी समिति सदस्य रावलले घटनाको सत्य-तथ्य छानविन गरेर दोषीलाई कारबाही गर्नुपर्ने बताए।

‘सञ्चार माध्यमबाट जे जस्ता कुरा आएका छन्, यो अत्यन्त गम्भीर र आपत्तिजनक कुरा हो,’ रावलले भने, ‘पार्टी र सरकारले यसको छानविन गर्नुपर्छ।’

बुधबार समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई नेकपा सांसदहरू महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपहरण गरेर काठमाडौं ल्याएको समाजवादी पार्टीले आरोप लगाएको छ।

आरोपित तीनै जनाले सांसद यादवलाई काठमाडौं ल्याएको स्वीकारेका छन्।

सांसदलाई होटलमा थुन्ने, खरिदबिक्री गर्ने जस्ता खेल रोक्न भनेरै पार्टी विभाजनका लागि सांसद र केन्द्रीय कमिटीमा ४० प्रतिशत पुग्नुपर्ने र राष्ट्रिय पार्टी बन्नका लागि मापदण्ड तोकिएको रावलले बताए।

जनताको सेवा गर्न लामो समयदेखि संघर्ष गरेको र त्यही अनुसारको सिद्धान्त बोकेको पार्टीको नेतृत्वमा सरकार भएका बेलामा यस्तो विकृत रुप देखिनु गम्भीर चिन्ताको विषय भएको रावलको भनाइ छ।

‘पार्टी विभाजनका लागि होटलमा सांसद राखिएको अनि प्रहरीको पहरा दिएको भन्ने समाचार आएका छन्। यसको सत्य-तथ्य बाहिर आउनुपर्छ,’ उनले भने, ‘यस्तो घटना छानविन गरेर दोषीमाथि काराबही नगर्ने हो भने कोही पनि सुरक्षित रहँदैन। कानुनी शासन, लोकतन्त्र अनि कम्युनिष्ट पार्टीको नीति सिद्धान्तको उपहास हो।’

जनताले यसको छानविन चाहेको भन्दै रावलले समाजको सुरक्षाका लागि पनि अपरिहार्य रहेको बताए।

‘पार्टी विभाजनमा बाह्य शक्तिको खेल भएको भनिएको छ। मैले अध्यादेश आएकै दिन यही कुरा भनेको थिएँ। घटनाक्रमले मेरो अनुमान सही रहेछ भनेर देखायो,’ उनले भने।

अरुलाई लकडाउनले रोक्ने तर कोही व्यक्तिले जे गरे पनि हुने भन्दै रावलले यस्ता घटनाले लोकतन्त्रको उपहास गरेको धारणा राखे।

‘अपहरण गरेको हो-होइन भन्ने कुरा आउने व्यक्ति र सम्बन्धित पार्टीले भन्ने कुरा हो,’ उनले भने, ‘घटनाको स्वतन्त्र छानविन गरेर कारबाही गर्नुपर्छ। यसो नगरे यत्रो संघर्ष गरेर ल्याएको व्यवस्था नै पतन भएर जान्छ।’

सरकारले ल्याएको अध्यादेश फिर्ता गर्न समेत रावलले माग गरेका छन्।

‘प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिन्छु भनेको औपचारिक जानकारी पाएको छैन। यो किन ल्याइयो, यसको कारण के हो भनेर पार्टीमा जवाफ दिनुपर्छ,’ उनले भने,’ कोरोनाबारे पनि अनेक विषय उठेका छन्। त्यसैले अविलम्ब स्थायी कमिटी बैठक बोलाउनुपर्छ भनेर हामीले माग राखेका छौं।’

रावल सहितका २० जना स्थायी समिति सदस्यहरूले स्थायी समितिको बैठक माग गरेर अध्यक्षद्वयलाई पत्र पठाएका छन्।

सेतोपाटी