२५ बैशाख २०८१, मंगलवार
Follow Us

प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

नेपालब्रिटेन संवाददाता
१२ बैशाख २०७७, शुक्रबार १५:०१

प्रहरीमाथि आक्रमण गरेको आरोपमा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा प्रहरीले चार जनालाई आज नियन्त्रणमा लिएको छ । रामग्राम नगरपालिका–१७ देवगावमा राहत वितरणका विषयलाई लिएर स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो ।

झडपमा एक प्रहरी सहायक निरीक्षक घाइते भएका थिए । राहतमा विभेद गरेको भन्दै स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेपछि ताला खोल्न पुगेका प्रहरीसँग स्थानीयवासीको झडप भएको हो । समूहमा आएका केही व्यक्तिले प्रहरीमाथि आक्रमण गर्दा प्रहरीचौकी गोबरहियामा कार्यरत प्रसनि चामबहादुर ओली घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

उहाँको टाउकामा चोट लागेको छ । घटनामा संलग्न रहेको आरोपमा एक महिलासहित चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको जनाइएको छ । रामग्राम नगरपालिकाले बुधबारदेखि वडा कार्यालयमार्फत असङ्गठित क्षेत्रका मजदूर तथा अति विपन्नवर्गका लागि राहत वितरण शुरु गरेको थियो ।

उक्त वडामा राहत वितरण भइरहेका अवस्थामा एक समूह आएर हुनेखानेलाई पनि राहत दिनुपर्ने भन्दै विवाद निकालेर वडा कार्यालयमा तालाबन्दी गरेको वडाध्यक्ष जीतबहादुर गोसाईँले जानकारी दिनुभयो । तालाबन्दी खोल्न पुगेको प्रहरीसँग समूहमा रहेका स्थानीयवासीले आक्रमण गरेको उहाँले बताउनुभयो । उक्त वडाका २०० घरधुरीका लागि राहत वितरण गरिएको थियो ।