२४ बैशाख २०८१, सोमबार
Follow Us

प्रहरी परिसरमा ज्ञवाली र अपराध महाशाखामा थापा

नेपालब्रिटेन संवाददाता
१२ बैशाख २०७७, शुक्रबार १५:०५

गृहमन्त्रालयले महानगरीय अपराध महाशाखाको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापा र महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुखमा अर्का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीलाई जिम्मेवारी तोकेको छ ।

उहाँहरुलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले प्रमुखको जिम्मेवारी दिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । यसअघि ज्ञवाली महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा हुनुहुन्थ्यो । थापा भने प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन शाखामा हुनुहुन्थ्यो ।

परिसरका प्रमुख उत्तमराज सुवेदी र महाशाखाका प्रमुख सहकुलबहादुर थापा प्रहरी नायब महानिरीक्षकमा बढुवा भएपछि यहाँ प्रमुखको पद रिक्त थियो । हाल सुवेदी सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख हुनुहुन्छ भने थापा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख भएर जानुभएको छ ।