२४ बैशाख २०८१, सोमबार
Follow Us

नगरपालिकाले राहतमा दिएको तेल खाँदा महोत्तरीमा दर्जनौं विरामी

नेपालब्रिटेन संवाददाता
१३ बैशाख २०७७, शनिबार १०:२९

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाले राहतमा वितरण गरिएको खाने तेल खाँदा दर्जनौं विरामी परेका छन् । राहतमा बाँडिएको खानेतेल तरकारीमा पकाएर खाएपछि गौशाला नगरपालिका–चारका दुई दर्जन भन्दा बढी महिला बालबालिका विरामी परेका हुन् ।

तेल खाएपछि सो वडाका अधिकांशलाई पखालाको समस्या देखिएको हो । राहतमा खाने तेलको नाममा अमृत व्रान्डका प्रशोधित पामोलिन खाने तेल वितरण गरेको भन्दै स्थानीय महिलाहरुले नगरपालिकाको कार्यालय समेत घेराउ गरेका छन ।

गौशाला नगरपालिकाले सर्वसाधारण विरामी भएको घटनाको छानविन गर्ने प्रतिबद्धता जनाएको छ । विरामीको उपचार र दोषीलाई कारवाही गर्ने पनि नगरपालिकाले जनाएको छ ।

गुणस्तरहीन तेल खरिद गरी राहत बाँडेको र सो तेल खाएपछि स्थानीयहरु विरामी पर्नथालेपछि तेल ईलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएको छ । स्थानीय प्रशासनले राहतमा बाँडेका तेल परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएको छ ।

गुण नियन्त्रण कार्यालयबाट तेल परीक्षणको रिर्पोट आएपछि प्रहरीले थप अनुसन्धान थालिने स्थानीय प्रशासनले जनाएको छ । गौशाला नगरपालिकाले वडा नम्बर ४ मा ३ लाख ८४ हजार ४ सय रुपैयाँ बराबरको ६ सय ८० घरपरिवारलाई शुक्रवार चामल दाल नुन तेल आलु राहत वितरण गरिएको थियो ।