२४ बैशाख २०८१, सोमबार
Follow Us

कोरानाले मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो

नेपालब्रिटेन संवाददाता
१४ बैशाख २०७७, आईतवार ०४:१७

जेनेभा । कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या दुई लाख तीन हजार दुई सय नाघेको छ । अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ हजार २ सय ५० बढी पुगेको छ । अमेरिकामा तीन महिनाको अवधीमा कोरोना संक्रमणवाट यति धेरैको संख्यामा मानिसको मृत्यु भएको हो । त्यहाँ फेब्रुअरी ६ मा कोरोना भाइरसका कारण पहिलो व्यक्तिको मृत्यु भएको थियो ।

पछिल्लो केही हप्तादेखि दैनिक दुई हजारको हाराहारीमा मानिसको ज्यान जाने गरेको छ । सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा अहिलेसम्म कम्तिमा २१ हजार ९ सय ८ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा ९ लाख ६० हजार कोरोना संक्रमित भइसकेका छन् ।

तर विश्वका अरू देशको आँकडाको तुलनामा अमेरिकामा कोरोनाका कारण हुने मृत्युदर कम रहेको छ । जनसंख्याको आधारमा स्पेन, इटली, फ्रान्स, बेल्जियम र बेलायतमा भन्दा अमेरिकामा मृत्युदर कम देखिएको हो ।

कोरोना संक्रमणबाट इटलीमा २६ हजार, स्पेनमा २३ हजार, फ्रान्समा २२ हजार ६ सय, बेलायतमा २० हजारभन्दा बढीको ज्यान गइसकेको छ । हालसम्म, विश्वभर कोरोना संक्रमितको संख्या २९ लाख १७ हजार नाघेको छ ।