मुख्य समाचार

विस्फोटमा मृत्यु भएका चार बालबालिकाको शव उठेन

तुलसीपुर । रोल्पामा जंगलमा बेवारिसे छोडिएको बम विष्फोटबाट मृत्यु भएका चार बालबालिकाको शव अझै संकलन हुन सकेको छैन । घटनास्थलमा सेनाको बम निस्कृय टोली नपुगेका कारण शव संकलनमा ढिलाइ भएको हो ।

घटनास्थलमा एउटा नपड्किएको टु ईञ्च मोटार पनि रहेकाले शव उठाउन नसकिएको प्रहरीले जनाएको छ । बम विस्फोट भएको स्थानमा दाङवाट सेनाको टोली पठाइएको छ । टोली पुगेपछि मात्रै शव संकलन प्रक्रिया अघि बढने प्रहरीको भनाइ छ ।

रातिदेखि नै निरन्तर पानी परिरहेकाले शव संकलनमा थप समस्या भएको छ । बिहीवार साँझ स्थानीय माईतेकापिना जंगलमा गाई बाख्रा चराउन गएका चार बालबालिकाको बेवारिसे अवस्थामा रहेको टु ईञ्च मोटर बम चलाउदा विस्फोट भएर मृत्यु भएको थियो ।

विस्फोटमा त्रिवेणी गाउँपालिका ७ का लालबहादुर खत्रीका ५ वर्षीय छोरा विजय खत्री, उनकी ११ वर्षीया दिदी विमला खत्री, लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरब नेपाली र ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखिराम डाँगीको मृत्यु भएको थियो ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता