२३ बैशाख २०८१, आईतवार
Follow Us

शव व्यवस्थापनमा खटिएका २ सैनिकमा कोरोना संक्रमण पुष्टि

नेपालब्रिटेन संवाददाता
१३ असार २०७७, शनिबार ०६:२७

पाल्पा । पाल्पामा कोरोना संक्रमणवाट मृत्यु भएका ब्यक्तिको शव व्यवस्थापनमा खटिएका दुई जना सैनिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जेठ २० गते पूर्वखोला गाउँपालिका–१, सिलुवाका ४५ वर्षीय पुरुषको निधनपछि उनको शव ब्यवस्थापनमा खटिएका दुई सैनिक संक्रमित भएका हुन् ।

शव व्यवस्थापन कार्यविधिअनुसार खटिएका ३३ र ३६ वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जानकारी दिएको छ । संक्रमित दुबै जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । शव व्यवस्थापनपछि दुबै सैनिक आइसोलेसनमा थिए ।

पाल्पामा हालसम्म ४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार मात्रै ७७ जना संक्रमित थपिएका छन । १६ जना उपचारपछि निको भएर घर फर्केका छन् ।