काठमाडौं । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले परीक्षणको मापदण्डलाई फराकिलो बनाएको छ । मन्त्रीस्तरीय निर्णय गरेर स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस भए नभएको थाहा पाउन गरिने पीसीआर परीक्षणको दायरा बढाएको हो ।
मन्त्रालयका अनुसार अब झाडापखाला लागेका तथा स्वाद र गन्ध थाहा पाउन कठिनाइ भएका व्यक्तिको पनि कोरोना परीक्षण हुने भएको छ । यसअघिको मापदण्डमा पीसीआर परीक्षणका लागि ज्वरो आएको, खोकी लागेको, स्वासप्रस्वासमा समस्या देखिएको, संक्रमण फैलिएको क्षेत्रको वा संक्रमितको सम्पर्कमा आएका व्यक्तिको मात्र परीक्षण हुने उल्लेख थियो ।
परिवर्तित मापदण्ड अनुसार अग्रपंक्तिमा रहेर काम गरेका व्यक्ति, ज्वरो, खोकी, सास फेर्न कठिनाइ भएका, स्वाद तथा गन्ध थाहा पाउन नसक्ने बिरामीको पनि परीक्षण गरिने छ ।
त्यस्तै संक्रमण पुष्टि भएकाहरूको सम्पर्कमा रहेका, विदेशबाट आएका सबै मानिस, अग्रपंक्तिका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरू, विगत १४ दिनमा कोभिड १९ संक्रमण भएको क्षेत्रमा भ्रमण गरेकाहरू, आइसियुमा रहेका सबै बिरामीलाई पनि परीक्षणको दायरामा ल्याइने भएको छ ।
दीर्घरोगीहरू, चिकित्सकीय मूल्यांकनका आधारमा शल्यक्रिया गर्नुपर्ने बिरामी पनि पीसीआर परीक्षणको दायरा भित्र परेका छन् ।