२३ बैशाख २०८१, आईतवार
Follow Us

आज थप ९ जनाको मृत्यु, नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार नाघ्यो

नेपालब्रिटेन संवाददाता
६ भाद्र २०७७, शनिबार ११:४५

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप नौजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा सुनसरी, पर्सा, बारा, सिरहा, मकवानपुर र भक्तपुरमा गरी नौजनाको मृत्यु भएको जानकारी दिनुभयो ।

मृत्यु हुनेमा पर्साका तीन, सुनसरीका दुई, बारा, सिरहा, मकवानपुर र भक्तपुरका एक/एकजना रहेका छन् । योसँगै नेपालका कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।

थप ६३४ जनामा कोरोना
प्रवक्ता गौतमले पछिल्लो २४ घन्टामा १२ हजार १९ जनामा गरिएको ‘पीसीआर’ परीक्षणमा देशभर ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । योसँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।

मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामामात्रै २१६ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १६०, भक्तपुरमा ५० र ललितपुरमा छ जना संक्रमित थपिएका हुन् । प्रवक्ता डा. गौतमले पछिल्लो २४ घन्टामा देशभरका विभिन्न अस्पतालबाट १३६ जना ‘डिस्चार्ज’ भएको जानकारी दिनुभयो ।

योसहित कोरोना निको हुनेको संख्या १८ हजार ३५० पुगेको छ । मन्त्रालयकाअनुसार हाल देशभर ‘क्वारेन्टिन’मा रहनेको संख्या ११ हजार ६५८ रहेको छ । ‘आइसोलेसन’मा १२ हजार ६२१ जना रहेका छन् ।