१८ असार २०८१, सोमबार
Follow Us

बागलुङ बाढी पहिरो : मृत्यु हुनेको संख्या ११ पुग्यो, ३६ जना बेपत्ता

नेपालब्रिटेन संवाददाता
१८ भाद्र २०७७, बिहीबार ०७:१८

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा गएराति आएको बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ । ३६ जना बेपत्ता भएका छन् । हालसम्म मृत्यु भएका ११ जनाको शव फेला परेको र अन्यको खोजी जारी रहेको बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।

मृतक मध्य ढोरपाटन नगरपालिका वडा नम्वर ९ की २६ वर्षिया केशमाया पुनको मात्रै पहिचान खुलेको छ । शव क्षतविक्षत अवस्थामा रहेकाले पहिचान गर्न कठिन भएको स्थानीयले जानकारी दिएका छन । राति करिब १२ बजे ढोरपाटन नगरपालिका ९ वोवाङको देउरालीमा भीषण पहिरो गएपछि भूजीखोलामा आएको बाढीले ढोरपाटन विभिन्न पाँचबडा बडाका ३० भन्दा बढी घर बगाएको छ । ढोरपाटनको वडा नम्बर छ, सात र आठमा सेनाको टोली पुगेर उद्दारको काम थालेको छ ।

बाढीमा बेपत्ता हुनेमा ढोरपाटन नौ कि कौशला पुन र उनको छ वर्षीय छोरा हिक्मत पुन, जीतबहादुर घर्ती, राजु घर्ती, कुमारी बिक रहेका छन् । त्यस्तै पुतली बिक, करमती घर्तीमगर, रीना घर्तीमगर, दिलमाया घर्तीमगर र उनको छ वर्षीय छोरा पनि बेपत्ता छन् । सोही स्थानका डोटी पुन, टुलमती पुन, गलकोटवाट घुम्न गएका नविन भण्डारी पनि बेपत्ता छन् ।

बाढीले जीप, दुई वटा विद्युत गृह, स्वास्थ्य चौकी भवन, एक वटा झोलुङ्ले पुल, ढोरपाटन ९ को सरस्वति आधारभुत विद्यालय र जनचेतना प्राथमिक विद्यालय भवन समेत बगाएको छ । बाढीले ढोरपाटन नगरपालिका ९ को लाँकुरीबोट १५ घर, दुनेपँधेरामा ५ घर, घट्टबोटमा ८ घर र सुप्राङ २ घर बगाएको स्थानीयले जानकारी दिएका छन । आजै गृहमन्त्री रामबहादुर थापा सहितको टोली पनि प्रभावित क्षेत्र जाने भएको छ ।