२१ बैशाख २०८१, शुक्रबार
Follow Us

आज देशभरका अस्पतालमा आकस्मिक र कोभिड बाहेकका सेवा ठप्प

नेपालब्रिटेन संवाददाता
२२ आश्विन २०७७, बिहीबार ०५:३०

काठमाडौं । डा गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल चिकित्सक संघको आह्वानसंगै आज विहान ९ बजे देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवाबाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गरेका हुन् ।

संघले हिजो विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । यस्तै संघले संघका शाखा कार्यालयहरु, देशभरका स्वास्थ्य संस्था वा अस्पतालहरुको प्राङ्गणमा जनस्वास्थ्यको मापदण्ड अपनाइ सामाजिक दुरी कायम गर्दै धर्ना दिने एवं कालोपट्टी बाँधेर रिले अनसन गर्ने भएको छ ।

यसैगरी भोली देशैभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने संघले जनाएको छ । यद्दपी आन्दोलनका कार्यक्रम सरकारसंगको वार्ताको परिणाममा भर पर्ने पनि संघका महासचिव डा.बद्री रिजालले बताउनुभएको छ ।