२१ बैशाख २०८१, शुक्रबार
Follow Us

अब लकडाउन हुँदैन: प्रवक्ता ज्ञवाली

नेपालब्रिटेन संवाददाता
२२ आश्विन २०७७, बिहीबार ११:५९

काठमाडौं । संक्रमितको संख्या २५ हजार नाघे पनि लकडाउन नहुने सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्पष्ट पारेका छन् । उनले भने, ‘संक्रमितको संख्या २५ हजार नाघे पनि लकडाउन हुँदैन, संक्रमणको हटस्पटमा निषेधित क्षेत्र घोषणा गरिनेछ ।’

प्रवक्ता ज्ञवाली कोभिड–१९ क्राइसिस मैनेजमेन्ट सेन्टर (सीसीएम) का सदस्य समेत हुन् । उनले भने, ‘काठमाडौं उपत्यका हटस्पट बनेको छ । हटस्पटलाई निषेधित क्षेत्र घोषणा गर्न सकिन्छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहातको इन्सिडेन्ट कमाण्ड सिस्टमले देशभरि २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित नाघे लकडाउन गर्नुपर्ने सुझाबसहितको निस्कर्ष दुई साताअघि निकालेको थियो। मन्त्रालयले कोभिड–१९ क्राइसिस मैनेजमेन्ट सेन्टर (सीसीएमसी) लाई उक्त सिफारिश गरेको थियो । दुई सातापछि असोज २१ गते सक्रिय सङ्क्रमितको संख्या २५ हजार नाघेको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा हाल करिब १४ हजार सक्रिय सङ्क्रमित छन् । जोखिम बढ्दो छ । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा मात्रै सक्रिय सङ्क्रमित करिब १२ हजार छन् । जसले गर्दा आइसोलेशन शय्याको अभाव महसुस गर्न थालिएको छ । जिल्लागत् रुपमा काठमाडौं हाल सबैभन्दा बढी सङ्क्रमित पुष्टि भएको जिल्ला हो । बुधबार मात्रै एक हजार दुईसयभन्दा बढी सङ्क्रमित पहिचान गरिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत सामाजिक दूरीको पालना, मास्क अनिवार्य लगाउनुपर्ने र हात साबुन पानीले नियमित धुनुपर्ने तथा बाहिरबाट आउने सर्वसाधारणको संख्या बढ्दा उपत्यकामा सङ्क्रमण बढेको जनाएको छ । नेपालमा हाल कोभिड–१९ का कुल सङ्क्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । सक्रिय सङ्क्रमित २५ हजार सात छन् ।