२३ बैशाख २०८१, आईतवार
Follow Us

बडा दशैं ०७७ आजबाट विदा

नेपालब्रिटेन संवाददाता
१४ कार्तिक २०७७, शुक्रबार ०४:४१

काठमाडौं । नेपालीहरुको महानपर्व बडा दशैं आजबाट बिदा हुँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट सुरु भएर पूर्णिमाका दिनसम्म १५ दिन बडा दशैं मनाइन्छ । कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दशैं सकिन्छ ।

आज सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसिन्छ । आज पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी मानिसका घरमा प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।

माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ ।

आज राति जुवा खेल्ने प्रचलन पनि छ । यसैगरी सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आजैदेखि आकाशदीप दान पनि शुरु हुन्छ । आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खएर, पीपल, आदिको लिङ्गो ठड्याइन्छ ।

आकाशदीप दान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि आजदेखि नै सुरु हुन्छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा महादीप दानसमेत गर्ने गरिन्छ ।