२४ बैशाख २०८१, सोमबार
Follow Us

कोरोना संक्रमणबाट नेपालमा थप २३ जनाको मृत्यु, २८२४ संक्रमित थपिए

नेपालब्रिटेन संवाददाता
१६ कार्तिक २०७७, आईतवार १३:११

काठमाडौं । नेपालमा विगत २४ घण्टामा २ हजार ८ सय २४ जना कोरोना भाइरस संक्रमित थपिएका छन । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार २३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ७ सय ७८ पुरुष र १ हजार ४६ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ । थपिएकामध्ये झन्डै ६० प्रतिशत काठमाडौं उपत्यकाका छन ।

एकै दिन उपत्यकामा १ हजार ६ सय २२ जना संक्रमित थपिएका छन । काठमाडौंमा १ हजार ३ सय ६२ जना, भक्तपुरमा ९६ जना र ललितपुरमा १ सय ६४ जनामा संक्रमण पुष्टि भएको हो । हाल सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ रहेको छ । तिमध्ये संस्थागत आइसोलेशनमा ६ हजार ७ सय ७९ जना र बाँकी ३० हजार ९ सय ८६ जना घरमै रहेका छन । त्यस्तै २ सय ८३ जना आईसीयु र ८६ जना भेन्टिलेटरमा रहेका छन ।

३ हजार ६ सय २० जना पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भएका छन । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ । अहिले देशभरका क्वारेन्टिनमा यस्तै दुई हजार तीन सय ८६ जना क्वारेन्टिनमा रहेका छन । नेपालमा हालसम्म १४ लाख ५६ हजार ३ सय ६६ पीसीआर नमूना परीक्षण गरिएको छ । यस्तै गएको २४ घण्टामा २३ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नौ सय ६० पुगेको छ ।