२३ जेष्ठ २०८१, बुधबार
Follow Us

रहेनन् सांसद एवं प्रतिष्ठित व्यवसायी केसी

नेपालब्रिटेन संवाददाता
१८ कार्तिक २०७७, मंगलवार ०६:१८

काठमाडौं । प्रतिष्ठित व्यवसायी एवं प्रतिनिधिसभाका सांसद सूर्यबहादुर केसीको निधन भएको छ । केसीको २०७७ कात्तिक १७ गते राति १०:३० बजे पोखरास्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ६३ वर्षीय केसी सुगर, ब्लड प्रेसरलगायत समस्याबाट पीडित थिए ।

२०१४ जेठ १४ मा जन्मिएका केसीमा पछिल्लो मधुमेह, उच्च रक्तचाप समस्या थियो । स्व. केसीको श्रीमती, ३ छोराबुहारी, ६ जना नातिनातिना छन् । पोखराका वरिष्ठ उद्योगपति एवं समाजसेवी केसी सनातन हिन्दू धर्मका पक्षपाति थिए ।

केसी नेपाली कांग्रेसको समानुपातिक कोटाका सांसद थिए । उनी कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यको भूमिकामा समेत थिए ।

केसी प्रतिष्ठित व्यवसायी हुन् । उनले सन् १९७३ मा केसी कन्स्ट्रक्सन स्थापना गरेका आफ्नो व्यवसाय थालेका थिए । आफ्ना बाबु कीर्तिबहादुर केसीको प्रेरणा लिएर भारतमा रहेका उनले नेपाल फर्किएर निर्माण व्यवसाय थालेका थिए । सुरुमा सडक निर्माण गरेको उनको कम्पनी अहिले जलविद्युत् आयोजना, बाँध निर्माणलगायतका व्यावसायिक काममा अब्बल मानिन्छ । नेपाल आर्मीको भद्रकालीस्थित मुख्यालयलगायतका कैयन संरचना उनी नेतृत्वको केसी ग्रुपले निर्माण गरेको छ ।

केसी कन्स्ट्रक्सन स्थापनाको ८ वर्षपछि केसी ग्रुप स्थापना भयो । यसले हिमश्री फुड स्थापना गरेको थियो । जसले नेपालको चर्चित रारा चाउचाउ उत्पादन गर्दै आएको छ । रारा नेपालको सबैभन्दा पुरानो र गुणस्तरीय चाउचाउ मानिन्छ । केसी माछापुच्छे बैंकका संस्थापकसमेत हुन् ।